गरिब प्रदेशका अर्बपति अर्थमन्त्री : जोसंग छ डेढ करोडको घडी ११ हजार तोला सुनचाँदी

सुर्खेत,  सबैभन्दा बिपन्न मानिएको प्रदेश कर्णाली  प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहसँग करिब अर्वौको सम्पत्ति भएको पाइएको छ । प्रदेशका हिसाबले सबैभन्दा गरिब बिपन्न प्रदेश भएपनि यो प्रदेशका अर्थमन्त्री रहेका शाहसंग अर्वौको सम्पत्ति रहेको पाइएको हो । काठमाडौँमै जन्मे–हुर्केका, विदेशमा अध्ययन गरेका र कांग्रेसको राजनीतिमा आइसकेपछि पुर्खाको थलो जाजरकोटबाट चुनाव लड्ने गरेका उनी अर्बपति हुन् ।

अर्थमन्त्री शाहसंग ११ हजार १०६ तोला सुनचाँदी रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग चल सम्पत्तिमा ९४५ तोला सुन र १० हजार १६१ तोला चाँदी रहेको उल्लेख गरेका छन्।

यस्तै ८ करोड बराबरको हिरा र जवाहरात रहेको छ भने १ करोड ५० लाखका विभिन्न ब्राण्डका घडीहरु उनीसँग रहेका छन् । उक्त सम्पत्ति व्यापार, मामाघर पटिको हजुरआमा रानी विन्दु देवि राणाको कालगतिले परलोक भए पश्चायत शेष पछिको बकसपत्रका साथै अष्टलोहबाट प्राप्त गरेको बताएका छन् ।

कर्णाली प्रदेश गरिब प्रदेश हो तर, यहाँका अर्थमन्त्री शाह यति धनी छन् कि उनका ठुला सहरमा चार वटा घरदेखि विभिन्न कम्पनीका मालिक पनि उनै छन् ।

शाह काठमाडौँमा नै जन्मे, हुर्केका हुन् भने विदेशमा अध्ययन गरेका हुन् । जाजकोटी राजाका सन्तान उनी कांग्रेसको राजनीतिमा आइसकेपछि पुर्खाको थलो जाजरकोटबाट चुनाव लड्ने गरेका छन् ।

काठमाडौँ महानगरपालिका–११, थापाथली निवासी शाहका काठमाडौँमा नै चारवटा करोडौँ मुल्य पर्ने घरहरु रहेका छन् । चारमध्ये तीन वटा घर शाहको नाममा छन् भने एउटा घर श्री टिआर रियल स्टेट एण्ड लिजिङ्ग कम्पनी प्रालिको नाममा रहेको छ ।

शाहले आफ्नो नाममा रहेका घरहरु पुर्खौली रहेको उल्लेख गरेका छन् । कम्पनीको घर ८० लाख १८ हजार ४५२ रुपैयाँ मुल्यमा खरिद गरेको उल्लेख छ । यद्यपि उनले उक्त कम्पनीबाट राजीनामा दिइसकेको बताएपनि कम्पनीमा ९९ प्रतिशत सेयर उनकै नाममा छ ।

शाहसँग काठमाडौँदेखि काभ्रे, नुवाकोटसम्म ११ वटा ठाउँमा जमिन छ । अहिलेको मुल्य अनुुसार ती जमिनको मुल्य करोडौँ पर्न जान्छ ।

काठमाडौँमा मात्रै ९ ठाउँमा जमिन छ भने काभ्रेको बालुवा साविको, नुवाकोटको साविकको ककनीमा जमिन रहेको छ । काठमाडौँमा रहेको जमिन पुर्खाबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।

उनी हिमालय एडभेन्चर र बिल्डरनेस माउन्टेनदेखि सिंह होल्डिगङ्ग इन्भेटमेन्टस प्रालिका मालिक पनि हुन् । यी सबै कम्पनीमा पुर्ण स्वामित्व उनैको छ ।

उनको बैँक, वित्तिय संस्था तथा सहकारीहरुमा पनि करोडौँ रकम मौज्दात रहेको छ । दुईवटा बैँकमा ३ करोड २३ लाख रकम मौज्दात छ । विभिन्न २६ वटा बैँक तथा विभिन्न कम्पनीहरुमा अर्बौंको सेयर लगानी समेत उनको छ ।

उनीसँग विभिन्न ५ वटा बैँकहरुबाट झण्डै २१ करोड बढी ऋण लगेकामा उनले ७ करोड बढी ऋण तिरिसकेको छन् । उनको सम्पत्तिका अगाडि ऋण केही पनि होइन् ।

उनीसँग लक्जरी कार तथा मोटरसाइकल नै करोडौँका छन् । १ करोड ५० लाख मुल्यको त टोयोटा टि एकस कार छ । अर्को दुई करोड ६३ लाख पर्ने जीप रुविकन कार रहेको छ । यस्तै ६१ लाचख ७५ हजारको महेन्द्र एक्स युभि जिप, ५ लाखको मोटरसाइकल रहेको छ । यस्तै ३७ लाखको अर्को महेन्द्र थार कार पनि रहेको छ ।