यात्रुसँग बढी भाडा असुल्ने ३१ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, यात्रुसँग बढी भाडा असुल्ने ३१ जनालाई ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ। मंगलबार बल्खुबाट एउटा सवारीसाधनसहित आठजना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट तीनजना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार १७ जना र सोमबार १४ जना पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार बल्खुबाट १० जना, नयाँ बसपार्कबाट दुईजना र कोटेश्वरबाट दुईजना गरी १४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) रविन कार्कीले जानकारी दिए।

चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारीसाधनले प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा दुईवटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्न काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजता प्रदान गरिएको पनि ट्राफिक प्रहरीले जनाएको छ।

चाडपर्वलक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना–२०८१ को प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनका लागि आवश्यकताअनुसार जनशक्ति परिचालन गरेर कारबाही थालिएको डिएसपी कार्कीले बताए। चाडपर्वको मौका छोपी बढी भाडा लिए-नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए-नभएको जाँच गर्ने तथा काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्नेलाई कारबाही गरी यात्रुको सुरक्षा सुनिश्चितता गरिएको उनले बताए।

गत १७ असोजमा नयाँ बसपार्कबाट नक्कली टिकट बिक्री गर्दै गरेको अवस्थामा टिकटको ठेलीसहित एकजना पक्राउ परेका थिए। यात्राका क्रममा कसैले अनावश्यक दुखः हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन उपत्यका ट्राफिक प्रहरीले आग्रह पनि गरेको छ।