पाइलट पढ्न एक रुपैयाँ उठाएका दिपेन्द्रको भिसा स्वीकृत

काठमाडौँ, पाइलट बन्ने लक्ष्य लिएर १ रुपैयाँ संकलन गरेका दिपेन्द्र घिसिङको पाइलट अध्ययनको लागि भिसा स्वीकृत भएको छ। अमेरिकाले पाइलट अध्ययनको लागि भिसा स्वीकृत गरेको उनी आफैँले सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘अन्त्यन्तै खुशीको खबर, अमेरिकाले मेरो पाइलट अध्ययनको लागि भिसा स्वीकृत गरेको छ, भिसासँगै अब मेरो पढाइको लागि सबै बाटो खुलेको छ, मभन्दा भाग्यमानी अरु को हुन सक्ला त यो क्षणमा जब भिसा अफिसरले समय लिएर ध्यानपूर्वक मेरो अध्ययनका लागि १ रुपैयाँ अभियानको बारेमा सुनेर बसे र अभियानकै कारण सजिलै भिसा पनि पाएँ।’

दोलखाका २१ वर्षीय घिसिङले पाइलट अध्ययनकै लागि भनेर १ रुपैयाँ संकलन अभियान थालेका थिए। सहयोग गर्ने सबैलाई धन्यवाद शब्दमा नभइ आफ्नो कामले दिने प्रतिबद्धता जनाएका छन्।

उनले भनेका छन्, ‘आखिर हामीले कहिल्यै हार मान्नु हुँदैन रहेछ र सधैँ कर्म र मिहिनेतमा विश्वास गर्नुपर्छ अनि आफ्नो कमजोरीलाई नै आफ्नो तागत बनाउनुपर्छ,
सबैलाई धन्यवाद शब्दमा होइन, आफ्नो कामले दिनेछु।’