महसुल नतिर्ने ठुला उद्योगको लाइन जोड्न दिएको निर्देशन प्रति बहुमतको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लामो समय देखी विधुत महसुल नतिर्ने ठुला उद्योगहरुको लाइन जोड्न सरकारले विधुत प्राधिकरणलाई दिएको निर्देशन प्रति आपत्ति जनाएको छ ।

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले केन्द्रीय समितीको तर्फबाट मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महसुल नतिर्ने ठुला उद्योगको लाइन जोड्न दिएको निर्देशन प्रति गम्भीर आपत्ति भएको बताएका छन् ।

उक्त पार्टीले ठुला उद्योगी भनिएकाहरुबाट पूर्ण महसूल असुल गरी साना किसान, घरेलु उद्योग र सर्वसाधारणको विद्युत महसुल मिनाह गर्न समेत जोडदार माग गरेको छ ।

देशले लोडसेडिङको चकों मार खेपिरहेका बेला डेडिकेटेड फिडर र ट्रकलाइनमार्फत सेवा लिएको अर्बौ प्रिमियम महसुल तिर्न आनाकानी गरिरहेका उद्योगीहरुले तिर्नु पर्ने विद्युत् महसुलको आठ अर्व २६ करोड असुल नगरी पुनः विद्युत लाइन जोड्न निर्देशन दिएको संयोजक बास्तोलाले बताए ।

६१ उद्योगीले उक्त अवधिमा प्रयोग गरेको विद्युतको महसुल २२ अर्व २४ करोड उठेकोमा यसअघि नै मन्त्रिपरिषद् बैठकबाट छुट दिएर आठ अर्व २६ करोड कायम गरिएको बताउदैं उनले आमजनताले मिटर रिडिङ गरेको ६० औं दिनसम्म पनि महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिदिने गरेको, दुई पटक गरेर २२ अर्व २४ करोड रुपैयाँ मिनाह गर्नु र सर्वसाधारण जनतासंग एक पैसा पनि नछोड्नुले यो सरकार पूँजीपतिको त हुँदै हो, त्यसमा पनि दलाल, नोकरशाह र यहाँका विचौलीयाको भन्ने तथ्यलाई पुष्टि गरिएको समेत संयोजक कञ्चनद्धारा जारी उक्त विज्ञप्तिमा उल्लेख छ ।

‘पर्याप्त विद्युत नभएकाकारण किसान, साना उद्यमीको उत्पादनको भण्डारण हुन सकेको छैन् । विद्युत अभावकै कारण एउटासम्म पनि रासायनिक मल उद्योग खुल्न सकेको छैन। सिंचाईको अभाव रहेको छ। उत्पादित बस्तुको ढुवानीमा समस्या परेको छ। त्यसैले हाम्रो पाटी ती उद्योगी भनिएकाहरुबाट पूर्ण महसूल असुल गरी साना किसान, घरेलु उद्योग र सर्वसाधारणको विद्युत महसुल मिनाह गर्न जोडदार माग गर्दछ । अन्यथा पार्टी सरकारको उक्त निर्णयका विरुद्धमा सशक्त आन्दोलन उठाउन बाध्य हुने जानकारी गराइन्छ ।, ‘उक्त विज्ञप्तिमा उल्लेख छ ।’

यस्तो छ विज्ञप्ति