नेपाल उद्योग व्यापार महासंघ कालिकोट प्रथम भेला सम्पन्न : अध्यक्षमा पाण्डे

विरेन्द्रनगर, मान्मा नेपाल उद्योग व्यापार महासंघ कालिकोटको प्रथम भेलाबाट २५ समिति गठन भएको छ । बुधबार कालिकोटको मान्मामा विभिन्न क्षेत्रका ब्यवसायिहरूको भेलाबाट भानु प्रसाद पाण्डेको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो ।

त्यस्तै महासंघको उद्योग उपाध्यक्षमा दल बहादुर साउद बाणिज्य उपाध्यक्षमा प्रेम टमटा महासचिवमा टेकराज काफ्ले कोषाध्यक्षमा
तारा गिरी चयन भएका छन । भेलाले २५ सदस्यीय समिति घोषणा गर्दै ब्यवसायिका हक हित र उत्थानमा लड्ने जनाएको छ ।

कार्यक्रममा पुर्व मन्त्री तथा माओवादी केन्द्रका उत्पादन बिभाग इन्चार्ज तथा कर्णाली प्रदेश सह इन्चार्ज टेक बहादुर बस्नेतले अब साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न सबै क्षेत्र लागिपर्नु पर्ने बताए । बस्नेतले मुलकलाई समृद्धिको बाटोमा लिन ब्यवसायको उत्थान र बस्तुको उत्पादन नै रहेको बताए ।

कार्यक्रममा लघु ओद्योगिक ग्राम सुर्खेतका अध्यक्ष तथा महासंघका प्रदेश इन्चार्ज उदिराम डाँगीले साना उद्योग नभई ठूला उद्योग बन्न नसक्ने भन्दै सबै तहका मानिसहरू मिलेर देशमा आर्थिक विकास गर्न लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, “एकातिर बेरोजागारी बढ्दै छ भने अर्कातिर व्यवसायहरू राम्रोसँग चल्न सकेका छैनन्, यसकारण हाम्रा साना तथा मझौला उद्योगहरूलाई विभिन्न तरिकाले प्रोत्साहन तथा सहयोग गरी राष्ट्रिय अर्थतन्त्र समृद्ध बनाउनका लागि उपयोग गर्नु जरुरी छ ।”

त्यस्तै कार्यक्रममा व्यापार महासंघका केन्द्रीय सचिव तथा कर्णाली अध्यक्ष सुर्य बिक्रम थापाले देशमा आर्थिक उदारीकरणको सुरुवातसँगै आर्थिक विकासमा साना तथा मझौला व्यवसायहरू प्रवर्द्धन गर्नु आवश्यक रहेको बताए ।

विभिन्न १७ वटा संघ मिलेर बनेको महासंघले कर्णाली प्रदेशका विभिन्न जिल्लामा संगठन बिस्तार गरिरहेको छ । महासंघका साधारण सदस्य नेपालको सम्बन्धित सरकारी निकायमा दर्ता भएका लघु, घरेलु , साना तथा ठुला उद्योग, व्यवसाय र व्यापारी रहेका छन् ।