कंगना रनौतलाई कसले हान्यो थप्पड ?

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतमाथि हातपात भएको छ । चन्डीगढ विमानस्थलमा महिला सीआइएसएफ हवलदार कुलबिंदर कौरले उनीमाथि थप्पड हानेकी हुन् । यस घटनामा कंगनाले सफाई पनि दिएकी छन् ।

कंगना र महिला हवलदारबिच भनाभन भएको थियो । अभिनेत्रीमाथि हानिएको थप्पड किसान आन्दोलनको जवाफ भएको कंगनाले एक भिडियोमा भनेकी छिन् ।

थप्पड कान्डपछि कंगनाको अभिव्यक्ति

यस घटनाबारे कंगनाले भनेकी छिन्, ‘म सुरक्षित छु, ठिक छु । आज चन्डीगढ विमानस्थलमा जे भयो त्यो सेक्युरिटी चेकको साथ भयो । म त्यहाँ सेक्युरिटी चेक गराएर निस्किएको मात्रै थिए, अर्को क्याबिनमा एक महिला मैले बाटो पार कति बेला गर्छु भनेर कुरिरहेकी थिइन् । साइडबाट आएर मेरो अनुहारमा थप्पड हानिन् अनि गाली गर्न थालिन् । यस्तो किन गरेको भनेर मैले सोध्दा आफूले किसान आन्दोलनलाई सपोर्ट गर्छु भनेर उनले भनिन् । तर मेरो चिन्ता पन्जाबमा बढ्दो आतङ्कवाद र उग्रवादलाई हामी कसरी ह्यान्डल गर्छाै भन्ने हो ?’

के भन्छिन् महिला हवलदार ?

सीआइएसएफ हवलदार कुलबिंदर कौरको पनि एउटा भिडियो बाहिरिएको छ । कंगनाले किसान आन्दोलनमा सहभागी महिलाहरू सय–सय रुपैयाँ लिएर बसेको भन्ने अभिव्यक्ति दिएकी थिइन्, त्यतिबेला आफ्नी आमा पनि किसान आन्दोलनमा जाने गरेको कौरले बताएकी छिन् ।

यस घटनापछि कौर निलम्बनमा परेकी छिन् । उनको श्रीमान् पनि सीआइएसएफमा भएको बताइएको छ । कंगनाले हालै हिमाञ्चल प्रदेशको मन्डीबाट लोकसभाको चुनावमा जितेकी छिन् ।

उनी अब लोकसभा सांसद हुन् । उनी दिउँसो चन्डीगढ विमानस्थलबाट दिल्ली जाँदै थिइन् । यही समयमा यो घटना भएको हो । विमानस्थलमा कंगनालाई थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ ।