खाडी मुलुकहरुमा भारी वर्षा : दुबई र ओमनमा २० को मृत्यु

काठमाडौं । खाडी मुलुकहरुमा भारी वर्षा पछि बाढी आउँदा मानव जीवन प्रभावित बनेको छ । अचानक आएको घातक बाढीले विश्वको दोस्रो व्यस्त विमानस्थल दुबई विमानस्थल अस्तव्यस्त भएको छ । थुप्रै उडानहरु अवरुद्ध भएका छन् । भीषण बाढी र डुवानका कारण यात्रुहरुलाई नआउन भनिएको छ ।

असिना पानीसहितको भीषण वर्षाले आबुधावी विमानस्थलसहित केही शहरहरु डुबानमा परेका छन् । दुबई विमानस्थलले अकल्पनीय चुनौतीपूर्ण अवस्था सामना गरिरहेको छ। दुबईमा कार बाढीमा फसेपछि एक जनाको मृत्यु भएको छ ।

अर्को खाडी मुलुक ओमानमा भने आइतबारदेखि हालसम्म बाढीकै कारण १९ जनाको मृत्यु भइसकेको छ। बाढी र वर्षाका कारण हिजो मात्रै दुबई अन्तर्राष्ट्रिय विमानस्थलले २ सय ९० वटा उडान रद्द गरेको फ्लाइट अवोयर डाटाले जनाएको छ । साथै विपद्का कारण थप ४ सय ४० उडानहरु ढिलाई भएको तथ्यांकले देखाएको छ।

प्रत्येक महाद्धिपमा उडानहरु संचालन गर्ने प्रमुख हबका रुपमा रहेको दुबई विमानस्थल पूर्ववत अवस्थामा संचालन हुन भने समय लाग्ने बताइएको छ।