महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा जबरजस्ती करणीको जाहेरी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् ।

पूर्वमन्त्री समेत रहेका नेता बस्नेतविरुद्ध ३१ वर्षीय युवतीले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । उनले भने–‘जाहेरी दर्ता गरेका छौँ ।’

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँका चोरी गरिएको पनि पीडितको दाबी छ । उनले जाहेरीमा लेखेकी छन्– ‘बस्नेतको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लिएर गएका हुन् ।’

बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्‌मा उद्योगमन्त्री थिए । उनि बिरुद्ध पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् ।

जाहेरी आएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको काठमाडौं प्रहरीले जनाएको छ । केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि झुक्याएर बलात्कार र गर्भपतन गराएको पीडितको दाबी छ ।