सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ

काठमाडौं, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो।

उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। महरालाई भैरहवाबाट यति एयरलाइन्समा साढे १० बजे काठमाडौं लगिएको छ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको छ। आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वय गर्ने निर्णय गरेको हो। सोही अनुसार गृहमन्त्री लामिछानेले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएका थिए।