प्रधानमन्त्री प्रचण्डले तेस्राेपटक पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम गरेको प्रस्तावको पक्षमा सांसदले मत दिए।

आजको प्रतिनिधिसभा बैठकमा २६८ जना सांसद उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डले पक्षमा १५७ मत प्राप्त गरे भने ११० सांसदहरुले विपक्षमा मत हाले।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक थियो । नेकपा एमालेबाट ७६, माओवादी केन्द्रबाट ३२, रास्वपाबाट २१, जसपाबाट १२, एकीकृत समाजवादीबाट १०, नाउपाबाट ४, आजपाबाट १ र स्वतन्त्र दुई सांसद (अमरेस कुमार सिंह र योगेन्द्र मण्डल)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए।

यसैगरी नेपाली कांग्रेस, राप्रपा, जनमतलगायतका सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् । जनमोर्चाका चित्तबहादुर केसी तटस्थ बसे।