बदनियतपुर्ण ढङ्गले दिन खोजिएकोले सम्बन्धन प्रक्रिया रोक्न माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सिटिईभिटीद्धारा केही निजी शिक्षण संस्थाहरुलाई दिन खोजिएको सम्बन्धन पक्रिया रोक्न माग गरेको छ । संगठनको विश्वविद्यालय-सिटिईभिटी प्रदेश समितीले परिषदका सदस्य सचिव महेश भट्टराई समक्ष आईतवार समसामयिक विषयमा २ बुदे मागपत्र पेस गरेको हो ।

संगठनका विश्वविद्यालय तथा सिटिईभिटी डिबी शाहीद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले १९७ औं वैठकले गरेको निर्णयको हवाला दिदैं मंशिर २३ गते शिक्षण संस्थालाई आवेदन दिन सुचना जारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताईएको छ ।

डिप्लोमामा तहको मुख्यत नर्सिङ, फार्मेसी र एचए लगायतका स्वास्थ कार्यक्रमको सम्बन्धन बदनियतपुर्ण ढङ्गले आर्थिक चलखेलका आधारमा दिन खोजिएकोले उक्त सम्बन्धन प्रक्रिया तत्काल रोक्नुका साथै उचित छानबिन गरि आर्थिक चलखेलमा संलग्न कर्मचारी तथा कलेजहरुलाई कार्बाही गर्न माग गरेको छ ।

त्यस्तै केही समय अघिमात्र परिषदको मधेश प्रदेशमा विद्यार्थीले पाउनुपर्ने छात्रवृत्तिमा गडबडी गरिएको, इन्ट्राम्सको रिजल्ट वइबसाइटमा नराखिएको, कर्मचारी र सिराहाको मिर्चैया नर्सिङ कलेज र महोत्तरीको शुभस्वस्तिक टेक्निकल कलेजको मिलेमतोमा विद्यार्थीसँग विभित्र नाममा अनुचित प्रकारले शुल्क लिइएको लगायतका बदमासीले सिटिईभिटीको विश्वसनीयता माथि नै प्रश्नउठ्न थालेको जनाएको छ ।

सिटिईभिटीको प्रदेश नं. २ मा बदमासी गर्ने कलेजहरुको सम्बन्धन खारेज गर्न, त्यसमा संलग्न परिषदको कर्मचारीहरलाई कडा भन्दा कडा कारबाही गर्न र घटनामा पिडित विद्यार्थीलाई न्याय प्रदान गर्न समेत माग गरेको छ ।

साथै उक्त विज्ञप्तिमा कसैको दबाब, प्रभाव र आर्थिक चलखेलका आधारमा गुपचुप ढङ्गले हल नगर्न समेत चेतावनी दिईएको छ ।

यस्तो छ ज्ञापनपत्र