आफुलाई ‘लिटिल बुद्ध’ भन्ने पक्राउ परेका रामबहादुर बम्जन को हुन ?

काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बूढानीलकण्ठबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए ।

उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । तर, त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किन बाध्य भयो ।

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए ।

जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् ।

सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ ।

प्रहरीले बम्जनका आश्रमहरूबाट यसअघि शब गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो । बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।