सबै आवेदकलाई ईपीएस परीक्षा गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरियाली पक्षसँग सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको बताए ।

पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने विषयले विवाद उत्पन्न भएको थियो । जसका कारण आन्दोलन हुँदा २ जनाको मृत्यु समेत भएको थियो । यो विषयमा उच्च अदालतले २ पटक आदेश दिँदै निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो । सोही आधारमा ईपीएस कोरिया शाखाले पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई समेत उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । तर, यो विषयमा कोरियाले भने कुनै निर्णय गर्न सकेको थिएन ।

एचआरडी कोरियाका अधिकारीहरुसँगको छलफलपछि सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको महानिर्देशक घिमिरेले बताए ।

भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) का निमित्त प्रमुखसँग महानिर्देशक घिमिरेको छलफल भएको थियो । छलफलको क्रममा सबैलाई भाषा परीक्षामा सहभागी गराउन तयार हुनुका साथै जनवरी २० देखि परीक्षा सञ्चालन गर्ने समेत जानकारी दिएको महानिर्देशक घिमिरेले बताए ।

सबै परीक्षार्थीहरुलाई तीनवटा लटमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति भएको घिमिरेले बताए । पहिलो लटमा आउँदो जनवरी २० तारिखबाट हुनेछ । जसमा ४७ हजार जनाको परीक्षा लिइनेछ । त्यस्तै दोस्रो लटमा ८० हजार र तेस्रो लटमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने उनको भनाई छ । पहिलो लटको परीक्षा सकिएपछि दोस्रो र तेस्रो लटको परीक्षा हुनेछ ।

उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।