सुलेमानीको चिहान नजिक विस्फोट : मृतकको सङ्ख्या एक सय नाघ्यो

काठमाडौँ । इरानमा लगातार २ वटा बम विस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०२० को जनवरी ३ मा बग्दानमा ड्रोन आक्रमणमा मारिएका सैनिक जनरल कासिम सुलेमानीको सम्झनामा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरेर विस्फोट भएको थियो । कार्यक्रम सुलेमानीको कब्रस्तान (चिहान) नजिक भएको हो ।

घटनामा २ सय भन्दा बढी घाइते भएका छन् । यद्यपी विस्फोटको कारणबारे भने केही खुल्न सकेको छैन । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

शीर्ष इरानी जनरल कासिम सुलेमानी बगदाद एयरपोर्टमा अमेरिकी हवाई आक्रमणमा मारिएका थिए । उनैको सम्झनामा बुधबार एक कार्यक्रमको आयोजना गरिएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पहिलो विस्फोट साहेब अल जमान मस्जिद नजिकै भएको थियो । त्यसको केही समयपछि दोस्रो विस्फोट पनि भयो । विस्फोटको आवाज केही किलोमिटर टाढासम्म सुनिएको थियो । घटनास्थलमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो । केही बेरमै उक्त क्षेत्र मृतक र घाइतेहरूले ढाकेको थियो ।