‘गोलि हैन रोटी दे’ भन्दैं बालुवाटार र सिंहदरबार सहितका निषेधित स्थानमा प्रदर्शन (तस्वीर)

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको क्रान्तिकारी युवा संगठन, नेपालले निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको छ ।

सरकार निदोर्श जनताको हत्याको तहमा उत्रिएको, भ्रष्टचारका घटनाहरु दिनप्रतिदिन बढिरहेको र एनसेलले राज्यको अर्बौ रकम अपचलन गर्दा समेत त्यसलाई कारबाही गर्न नसकेको लगायतका मागहरु राखेर सोमवार निशेधित क्षेत्र प्रधानमन्त्री निवास वालुवाटार र सिंहदरबारको परिसर भित्र नै छिरेर अर्धनग्न प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबार र बालुवाटार सहित, सर्वोच्च अदालत, मन्त्रि निवास हरिहरभवन, नयाँ बानेश्वरको संसदभवमा समेत प्रदेशन गरिएको हो ।

उनिहरुले गोलि हैन रोटी दे, राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, शिक्षा र स्वास्थको ग्यारेन्टी गर, एनसेल हामीलाई चाहिदैन्, भ्रष्टचार नियन्त्रण गर, जनतालाई न्याय दे, भ्रष्ट दलाल व्यवस्था चाहिदैन्, संसदीय व्यवस्था मुर्दावाद सहितका नारा लगाएर नारावाजी गरेका थिए ।

बालकुमारी घटना, एमसीसी र एनसल प्रकरणको विरोधमा प्रदर्शन गरेको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले जानकारी दिए । उनले भने, ‘हामी नांगिएर प्रदर्शन गरेर सांकेतिक रुपमा सत्ता नांगिसकेको सन्देश दिन खोजेका हौं, मिलिभगत लुटतन्त्रको विरोधमा पहिलो चरणको पहिलो कार्यक्रम हो यो ।’

यसअघि युवा संगठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत् यही पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएका थियो । ज्ञापन पत्रमा उल्लेख भएका माग सरकारले सम्बोधन नगरेको भन्दै आज संसदीय र प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार प्रदर्शन गरेको युवा संगठनले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुमध्ये अहिलेसम्म ३२ जना पक्राउ परेको र उनीहरुलाई फरक-फरक ठाउँमा राखिएको प्रारम्भिक जानकारी आएको भट्टले बताए । पक्राउ पर्नेहरुमा केन्द्रीय कार्यालय सदस्य लगायत छन् ।

विद्यमान संसदिय व्यवस्थाको औचित्य समाप्त भईसकेको र यसको विकल्पमा एउटा अग्रगामी व्यवस्था स्थापनाको लागी क्रान्तिकारी कम्युनिस्ट पार्टी र त्यो सम्वद्ध जवसहरुले निरन्तर संघर्ष गरिरहेको पार्टी कार्यालय सदस्य उदय चलाउने दिपकले जानकारी दिए ।

उनका अनुसार आफ्नो पार्टीले आगामी दिनमा समेत संघर्षलाई नयाँ उचाईमा पुर्याउने जानकारी दिए ।