सिंहदरबार छिरेर प्रधानमन्त्री कार्यालयमै अर्धनग्न प्रदर्शन

काठमाडाैं | मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर प्रदर्शन गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर ३ युवाले सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन् । उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

सामान्य पोशाकमा सिंहदरबार छिरेका युवा प्रधानमन्त्री कार्यालयको ढोकैअगाडि पुगेर अर्धनग्न बनेका थिए । शुरूमा त्यहाँ रहेका सुरक्षाकर्मी अन्योलमा परे । तत्काल थप प्रहरी आएर उनीहरूलाई पक्राउ गर्न भ्याए ।

ढोकैअगाडि प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यालयमै थिए ।

निषेधित क्षेत्र तोडेर सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन सबैतिर एकैपटक प्रदर्शन गर्ने नीतिअन्तर्गत प्रदर्शन गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका एक नेताले बताए ।

त्यस्तै बालुवाटार स्थित प्रधानमन्त्री निवास, सर्वोच्च अदालत, बानेश्वरको संसद भवन, पिल्चोक स्थित मन्त्रि निवासमा पसेर समेत केही युवाहरुले अर्धनग्न प्रर्दशन गरेका हुन् ।
यस अघि युवा संगठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत् यही पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा उल्लेख भएका माग सरकारले सम्बोधन नगरेको भन्दै आज संसदीय र प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार प्रदर्शन गरेको युवा संगठनले जनाएको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरी सङ्गठनका नेता-कार्यकर्ताहरूलाई प्रम निवास बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, मन्त्री निवास पुल्योक र संसद् भवन बानेश्वरबाट गिरफ्तार गरेको भन्दैं क्रान्तिकारी युवा संगठनका संयोजक हरिष भट्टलाई विज्ञप्ति जारी गरेर रिहा गर्न माग गरेका छन् ।

उनका अनुसार गिरफ्तार हुनेमा संगठनका कार्यालय सदस्य भुवन रम्तेल, सचिवालय सदस्यहरू वसन्त भण्डारी, दीपेन्द्र ऐरी, निश्चल गौंला, सुलभ तिमिल्सिना, प्रकाश शर्मा, पद्म हमाल, विकल्प लामा तथा केन्द्रीय सदस्यहरू तिलक वयक, बिलबहादुर तामाङ, सूर्य परियार, गोपाल विक, राजकुमार तामाङ, हरि घर्ती र आकाश कार्की लगाएतका नेताहरु छन् ।