ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको गाडीमाथि आगजनी

ललितपुर । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा विरोध गरिरहेकाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमाथि आगजनी गरेका छन् ।

बा २ झ ५८६१ नम्बरको गाडीमा रहेका मन्त्री ज्वाला र व्यक्तिगत सुरक्षा अधिकारीलाई बाहिर निकालेर गाडीमा आगो लगाइएको र आगलागीबाट गाडी पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिकाको दमकलले आगो निभाए पनि दमकल पुग्न ढिलो हुँदा गाडी जलेर ध्वस्त भएको हो ।

आगजनी पछि बालकुमारी क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । आन्दोलनकारीले ढुङ्गा प्रहार गरिरहेका छन् ।

वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण (सिप बिल्डिङ)मा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकी विरोधमा उत्रिएका हुन् ।

पानीजहाज निर्माणमा परीक्षा दिएकाहरूले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा दायर गरेकोमा अदालतले भाषा परीक्षामा भाग लिन फर्म भर्न दिन आदेश दिएको थियो ।

उच्च अदालतले भाषा परीक्षाका लागि नयाँ आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकलाई आवेदन फाराम भर्न दिनु भन्ने अन्तरिम आदेश दिए पनि शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिने जनाएको थियो ।