भोलि काठमाडौंमा युवाहरुको बृहत् मार्चपास, मोहन वैद्यले सम्बोधन गर्ने

काठमाडौं । मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला कञ्चनले नेतृत्व गरेको नेकपा (बहुमत) बिचमा एकता भई बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठनले काठमाडौंमा बृहत् मार्चपास गर्ने भएको छ ।

उक्त पार्टी निकटको युवा संगठन क्रान्तिकारी युवा संगठनले १३१औं माओ दिवसका अवसरमा मंगलबार काठमाडौंमा बृहत् मार्च पास सहितको प्रदर्शन गर्न लागेको हो ।

रातो टोपी, ज्याकेट, झण्डा र ब्यानरसहित हजारौं क्रान्तिकारी युवाहरुले खुलामञ्चबाट निस्केर मार्चपास गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय कार्यालय सदस्य झलक विकले जानकारी दिनुभयो ।

सहरका विभिन्न चोकबाट निकालिने युवाहरुको मार्चपासलाई रत्नपार्क स्थित खुल्लामञ्चमा केन्द्रित गरेर केन्द्रित मार्चपास निकाल्ने र मार्चपासले नगर परिक्रमा गर्ने कार्यक्रम रहेको संगठनले जनाएको छ । 

उक्त मार्चपासलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरण, प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कन्चन’, पार्टीका युवा नेता उदय बहादुर चलाउने ‘दिपक’ लगायतका प्रभावासाली नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तमाम समस्याहरुको समाधान गर्न वलप्रयोग गरेर वर्तमान संसदीय व्यवस्थाको अन्त्य गरेर देशको अग्रगामी व्यवस्थाको स्थापना गर्ने भन्दैं निरन्तर सडक संघर्षमा रहेको पार्टीको युवा संगठनले युद्धकालिन झल्को दिने गरेर गर्ने थालेको भोलिको कार्यक्रमले सवैको ध्यानकेन्द्रित भने पक्कै गरेको छ ।