चोरिएका १३७ वटा मूर्ति फिर्ता ल्याउन कूटनीतिक पहल

काठमाडौँ । सरकारले विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३७ वटा मूर्ति फिर्ता गर्न अमेरिका, फ्रान्स, चीन, भारत, अस्ट्रेलिया, बेलायत लगायतका राष्ट्रहरूसँग कूटनैतिक पहल भइरहेको जनाएको हो ।

मन्त्रालयले सरकारको एक वर्ष पुरा हुन लागेको अवसरमा तयार गरेको एक वर्षे कार्य प्रगतिमा नेपालबाट अनधिकृत रूपमा चोरी पैठारी भएका सांस्कृतिक सम्पदाहरूमध्ये एक वर्षमा १० वटा मूर्ति नेपाल फिर्ता ल्याइएको जनाएको छ । यस्तै ६ वटा मूर्ति आवश्यक प्रक्रिया पुरा भएर नेपाल फिर्ता हुने क्रममा रहेको पनि मन्त्रालयको भनाइ छ ।

यस्तै मन्त्रालयले एक वर्षको अवधिमा पर्यटक आगमनमा उत्साहजनक प्रगति भएको उल्लेख गर्दै करिब १० लाख पर्यटकले नेपाल भ्रमण गरेका र यो सङ्ख्या वृद्धि हुने अवस्थामा रहेको जनाएको छ । यस्तै नेपाल भ्रमण दशक (२०२३–३२) अवधारणा स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भइसकेपनि त्यसलाई पूर्ण क्षमतामा सञ्चालनका लागि पहल भइरहेको मन्त्रालयको भनाइ छ । ‘पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेतलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक तयारी भैरहको छ’, मन्त्रालयको भनाइ छ । यस्तै जुम्ला, रुकुम, रारा तथा सिमिकोट लगायत विभिन्न विमानस्थलहरुको भौतिक सुधार र स्तरोन्नति कार्य अघि बढाइएको छ भने भरतपुर, भोजपुर, विराटनगरहरूको टर्मिनल भवन र भरतपुर विमानस्थलको स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ ।

यस्तै नेपाल वायुसेवा निगमको व्यापार विस्तार गरी सञ्चालन नाफामा लगिएको र निगमको करिब चार अर्ब ऋण चुक्ता गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै दुर्गम स्थानमा हवाइसेवाको पहुँच बढाउन थप तीन वटा साना जहाज खरिद प्रक्रिया अगाडि बढेको छ भने प्रयोगविहीन भई ग्राउण्डेड रहेका चिनियाँ ५ वटा जहाजहरूको लिलाम बिक्रीको लागि बोलपत्र आह्वान भइसकेको छ ।

यस्तै सूचना प्रविधिको माध्यमबाट होटेल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली, नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय र आन्तरिक हवाई टिकट अनलाइनबाट काट्ने व्यवस्था र राष्ट्रिय संग्राहलयमा भर्चुअल टुरको व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपाल तथा रुवान्डाबिच हवाई सेवा सम्झौता सम्पन्न भएको छ भने स्वीट्जरल्याण्ड तथा इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

एक वर्षकै अवधि अर्थात् गत जेठ २९ गते नेपाल वायु सेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको एक दिन काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ नियमित उडान थालनी गरेको थियो । उक्त उडानलाई थप प्रभावकारी बनाउन पहल भइरहेको बताइएको छ ।

यसैगरी नेपाल वायुसेवा निगमले गत वैशाखदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरी व्यावसायिक उडानको थालनी गरेको छ भने तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा एटीआर–७२ विमानबाट सेवा सञ्चालन सुरु गरिएको छ ।

यसैगरी जुम्ला, रुकुम, रारा तथा सिमिकोट विमानस्थल विस्तार तथा स्तरोन्नतिका लाग जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । यस्तै नेपाल वायुसेवा निगमको व्यावसायिक दक्षता अभिवृद्धि गर्न अध्ययन तथा सिफारिस समिति गठन गरिएको छ भने उक्त समितिका सिफारिसहरूको कार्यान्वयन प्रारम्भ गरिएको छ ।

मन्त्रालय र मातहतका निकाय, विमानस्थल, सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थलमा सरसफाइ सम्बन्धी निर्देशिका स्वीकृत गरी सरसफाइ अभियान सुरु गरिएको छ भने पशुपति क्षेत्रमा प्रत्येक शनिवार तीन महिने बृहत् सरसफाइ अभियान सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पशुपति क्षेत्रमा सञ्चालनमा रहेको विद्युतीय शवदाहलाई बिस्तार गर्दै निःशुल्क गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने पशुपतिनाथको जग्गा संस्थाको नाममा हाल साबिक गर्ने तथा हराएको जग्गा खोजी कार्य भईरहेको पनि मन्त्रालयले जनाएको छ । यस्तै पशुपति क्षेत्रमा मदिरा तथा लागू ‌औषधको प्रयोग लगायतका अवाञ्छित गतिविधिमाथि पूर्ण नियन्त्रण गर्दै उक्त क्षेत्रको सौन्दर्यीकरणका कार्यहरू भइरहेको जनाइएको छ ।

यस्तै नेपाल सरकारद्वारा जुगल हिमशृङ्खलामा पर्ने ५ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरेको छ । सो सहित हालसम्म कुल ४१९ वटा हिमाल आरोहणका लागि खुला गरिएको मन्त्रालयले जनाएको छ । हाल पर्यटन मन्त्रालयको नेतृत्व माओवादी केन्द्रका नेता समेत रहेका सुदन किरातीले गर्दै आएका छन् । उनी माघ ३ गते मन्त्री नियुक्त भएका थिए ।