निजी शिक्षण संस्थाहरुलाई जेल र व्यारेक बनाइयो : संयोजक ऐडी

हिमालयन ह्वाइट हाउसद्धारा विद्यार्थीमाथि गरिएको दमनको भ्रत्सना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले शिक्षण संस्थामा डिआईको आवरणमा गुण्डागर्दी हुने गरेको आरोप लगाएको छ ।

संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं संयोजक मिम बहादुर ऐडीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दैं निजी शिक्षण संस्थाहरुले अनुशासन इन्चार्जको नाममा गुण्डागर्दी भईरहेको आरोप लगाएका छन् ।

पछिल्लो समय निजी शिक्षाका मालिकहरुले आफ्नो निजी कलेजहरुको बिद्यार्थीहरुलाई लुट्न सजिलो होस भनेर जेल र व्यारेक बनाएको संयोजक ऐडीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘विद्यालयहरुले विद्यार्थीहरुलाई तहलगाउन भन्दैं गेटमै बाउन्सर जस्ता गुण्डाहरुलाई डिआई तथा स्टुडेन्ट रिलेसन इन्चार्जको नाममा राखेका छन । ति गुण्डाहरुले विद्यार्थी कुट्ने, दुर्व्यवहार गर्ने, छात्राहरुमाथि लैङ्गिक हिंसा समेत गर्ने गरेका छन् ।’

‘केही दिन पहिलेमात्र कोटेश्वर स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा भएको घटना त्यसको ज्वालन्त उदाहरण हो । त्यहाँ भएका छात्रालाई डिआई कृष्ण न्यौपानेले गरेको दुव्यवहारका विरुद्ध आवाज उठाउने विद्यार्थीहरु माथि कलेज प्रशासनले प्रहरी लगाएर दमन मात्रै गरेन विद्यार्थीहरुलाई कलेजका विज्ञान कोर्डिनेर समेतले धम्की दिए । जुन खेदजनक छ ।’

उक्त संगठनले हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजले विद्यार्थीमाथि गरेको दमन प्रति घोर निन्दा र भ्रत्सना गर्दै विद्यालयका डिआई कृष्ण न्यौपाने र विज्ञान कोर्डिनेरलाई कडा भन्दा कडा कारवाही गरी घाईते विद्यार्थीहरुलाई उपचार सहित क्षतिपुर्तिको व्यवस्था गर्न र विद्यार्थीहरुले उठाएका जायज मागहरुलाई पुरागर्न समेत माग गरेको छ । साथै संगठनले सम्पूर्ण कलेजहरुलाई डिआईका नामका गुण्डा नराख्न समेत आग्रह गरेको छ ।

संगठनको सोमबार काठमाडौं महानगरपालिकाको शिक्षा बिभागमा समेत प्रदर्शन गरेको छ ।