ओलीलाई माओवादी नेताको स्वागत

काठमाडौँ, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियान अन्तर्गत सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका छन्।

ओलीलाई स्वागत गर्दै माओवादी बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल

सोमबार जिल्लाको बलेफी गाउँपालिकामा पर्ने खाडीचौर बजारमा पुगेका ओलीलाई माओवादी बागमती अध्यक्ष एवं प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले स्वागत गरेका हुन्।

उनले सुकुटेमा ओलीलाई खादा मालासहित स्वागत गरेका थिए। त्यस्तै, ओलीलाई बलेफी गाउँपालिकाले मायाको चिनो दिएर स्वागत गरेको थियो।

गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले ओलीलाई मायाको चिनोद्वारा स्वागत गरेका थिए। तामाङ माओवादीबाट निर्वाचित पालिका अध्यक्ष हुन्।

ओलीलाई स्वागत गरेपछि उनको सचिवालयले ‘तुच्छ र फोहोरी राजनीतिको अन्त्य गरौं, उच्च राजनीतक संस्कारको विकास गरौं’ भनेर मायाको चिनो प्रदान गरेको तस्बिर सार्वजनिक गरेको छ। अध्यक्ष तामाङले उनलाई यात्रा सफलताको शुभकामना समेत दिएका छन्।

एमालेले बैतडीको झुलाघाटबाट यही मंसिर १४ गते सुरु गरेको अभियान सिन्धुपाल्चोकको खाडीचौर पुगेको हो।

खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले, एमालेले मात्रै देशको रक्षा गर्न सक्ने दावी गर्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए।