रूसी सेनामा कार्यरत अर्का एक नेपाली युवाको मृत्यु

काठमाडौँ । रूसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको उनका साथी प्रदीपकुमार गिरीले जानकारी दिएका छन् । रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए ।

नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए । उनको मृत्युबारे थप विवरण आउन प्राप्त हुन बाँकी नै छ । यसअघि रुसी सेनामै भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको थियो । युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा केही महिना अगाडि मात्र नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका थिए ।

रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । यस्तोमा रुस र युक्रेन दुवैले विदेशी मूलका मानिसहरूलाई सेनामा भर्ती गरिरहेका छन् । केही समय अगाडि मात्र सन्दीपले आफ्नी बहिनी शान्तालाई आफू रुसी सेनामा भर्ती भएको खबर सुनाएका थिए । नेपालमा ल्याब टेक्निसियन पढेका उनी लामो समय जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस गएका थिए ।

सन्दीपलाई रुसी सेनामा महिनाको ७५ हजार रुबल अर्थात् नेपालको झण्डै एक लाख रुपैयाँ तलब दिने बताइएको थियो । अन्तिम पटक उनले परिवारलाई युद्धमा भएकाले पछि फोन गर्ने बताएका थिए । त्यसपछि उनी बाख्मुतको युद्धमा मारिए । न्युयोर्क टाइम्सका अनुसार सन्दीप जस्ता नेपाली युवाहरू रुस र युक्रेन दुवैतर्फका सेना बनेका छन् ।