सहकारीको अर्बौ हिनामिना गरी फरार मेयरले भने–घर जग्गा बचतकर्तालाई बुझाउन तयार छु

आफू र आफ्नो सम्पूर्ण परिवारलाई ज्यान मार्ने धम्की आयो

काठमाडौं । बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरी भागेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख (मेयर) देवकुमार नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै व्यक्तिगत घर जग्गा बेचेर बचतकर्ताको रकम फर्काउने भन्दै वातावरण मिलाइ दिन आग्रह गरेका छन् ।

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी गत वैशाख पहिलो हप्तादेखि फरार छन् । उनले सहकारीका बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । नेपालीविरुद्ध प्रहरीमा समेत मुद्दा परेको छ । सरकारले पनि उनलाई गत जेठ ८ गते अध्यागमन विभागको निगरानी सूचीमा राखेको थियो । त्यसको तीन दिन अगाडिदेखि नै उनी सम्पर्कविहीन भएका थिए ।

उनले एक भिडियो जारी गर्दै आफू र परिवारमाथि आएको धम्कीका कारण त्यहाँ बस्न सक्ने अवस्था नरहेको जानकारी गराउँदै भनेका छन्, ‘बचतकर्ताहरुलाई आफूले सहकारीमा समस्या देखिएपछि शेयर सदस्य र बचतकर्ताको विशेष भेला राखेर बचत फिर्ता समाधान गर्न ६ महिना समय राखिएको थियो ।’ उनले केही व्यक्ति घरमा हतियारसहित आई आफूसहित श्रीमती र सानो छोरीको ज्यान मार्ने धम्की दिएको र ६ लाख बचत भएको व्यक्तिहरुले पाँच करोडको घरजग्गा आफ्नो नाममा पास गर्न दबाब दिएका कारण आफू केही समय घरबाहिर बस्न बाध्य प्रष्टीकरण दिएका छन् ।

उनी भन्छन्, ‘म सबै बचतकर्ताहरुलाई अनुरोध गर्दछु कि, इमेज बचत सहकारीको समस्या मात्र नभई यो समस्या नेपालका सबै सहकारीको समस्या हो ।’ बचतकर्तालाई रकम फिर्ता गर्न ढिला भएकोमा संस्थाको तर्फबाट क्षमा माग्दै उनले सबै मिलेर जानुपर्ने बताएका छन् । उनले भने, ‘म त्यहाँ नभएका कारणले धेरै टिकाटिप्पणी आएका छन्, मैले बुझेको छु । हामीहरु इमेज सहकारीको समस्या व्यावहारिक तरिकाले समाधान गर्नेतर्फ जानुपर्छ र जान खोजेका पनि छौँ ।’

व्यक्तिगत सम्पत्ति बेचेरै भए पनि सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता उनले दोहोर्‍याएका छन् । ‘कतिपय सहकारी १६ अर्बका समस्या पनि परेका छन्, मैले भन्नुभन्दा सबैलाई थाहा भएको कुरा हो । हामी घरजग्गा र सम्पत्ति नभएको मान्छे होइनौँ । हामीले चलअचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहीँ नै राखेका छौँ, लिएर हिँडेका छैनौँ । यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँदछौँ’, उनले भने ।

उनले सहकारी समस्यामा पर्नुको कारण कर्मचारी पनि भएको आरोप लगाएका छन् । नगर प्रमुख भएपछि सहकारीमा आफूले समय दिन नपाएको र बचतकर्ताले एकैपटक बचत फिर्ता माग्दा यो अवस्था आएको उनको भनाइ छ । राजनीतिक रुपमा पनि आफूमाथि प्रहार भएको आरोप उनले लगाएका छन् ।

यस्तो छ उनको प्रतिक्रिया