गाजाको विद्यालयमा आक्रमण हुँदा ५० बढीको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ । राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ ।

विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुईतले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । भिडियोमा एउटा कोठामा करिब एक दर्जन शव भुइँमा धुलोले ढाकिएको देखिन्छ । त्यस्तै, डेस्कहरू छरिएका र क्षतिग्रस्त भएका छन्, कोठाको एउटा भित्तामा एउटा प्वाल देख्न सकिन्छ । सिएनएनका अनुसार भवनको छाना च्यातिएको र जमिनमा भग्नावशेष देख्न सकिन्छ ।

राष्ट्रसंघको राहत तथा कार्य निकाय (युएनआरडब्लुए) का प्रवक्ता जुलिएट टौमाले घटनाको पुष्टि गर्दै मृतकको संख्या अस्पष्ट रहेको र जानकारी आउन बाँकी रहेको बताए । उनले घटना के कारणले भएको हो वा यसको जिम्मेवार को हो भन्नेबारे पुष्टि गर्न सकेनन् । युएनआरडब्लुएले प्यालेस्टिनी शरणार्थी शिविरहरूमा विद्यालयहरू सञ्चालन गर्नुका साथै गाजामा राष्ट्रसंघको प्रमुख राहत एजेन्सीका रूपमा काम गर्दछ ।

सामाजिक सञ्जाल एक्समा तस्बिरहरूलाई ‘डरलाग्दो’ भन्दै युएनआरडब्लुए प्रमुख फिलिप लेजारिनले घटनाको समयमा हजारौँ विस्थापितले त्यहाँ आश्रय लिइरहेको बताए । सिएनएनका अनुसार इजरायली सेनाले घटनाको समीक्षा गरिरहेको छ, तर कुनै प्रतिक्रिया जनाएको छैन । इजिप्ट र कतारले उक्त घटनाका लागि पहिले नै इजरायलको सैन्य कारबाहीलाई दोष दिएका छन् ।
इजिप्टको विदेश मन्त्रालयले उक्त घटनालाई ‘बमबारी’ भन्दै यो गाजामा सर्वसाधारणविरुद्ध इजरायली उल्लंघनहरूको शृंखलामा नयाँ भएको बताएको छ ।

सिएनएनका अनुसार कतारले राष्ट्रसंघको स्वतन्त्र अनुसन्धानकर्ताहरूलाई गाजा गएर अनुसन्धान गर्न आह्वान गरेको छ ।

युएनआरडब्लुएले उत्तरी गाजामा रहेको आफ्ना विद्यालयमा २४ घन्टामा यो दोस्रो आक्रमण भएको जनाएको छ । जैतुनमा रहेको अर्को विद्यालयमा शुक्रबार आक्रमण भएको थियो । उक्त विद्यालयमा चार हजार मानिसले शरण लिइरहेका थिए । रासस