आज अन्तराष्ट्रिय सहनशीलता दिवस

काठमाडौं । आज अन्तराष्ट्रिय सहनशीलता दिवस । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९६ देखि हरेक वर्ष नोभेम्बर १६ तारिखका दिन यो दिवस मनाउन थालिएको हो ।

९० को दशकमा अफ्रिकी महादेश र युरोपको बाल्कन क्षेत्रमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो ।

नरसंहारका पीडित परिवारहरूले द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवर्द्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित होस भनेर राष्ट्रसंघलाई दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।

अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्कोद्वारा घोषित एक दिवस हो जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ ।

यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ । यस्ता समारोहहरूमा सहनशीलता र अहिंसाको प्रवर्द्धनको बारेमा गम्भीरता पूर्वक छलफल हुने गरेको छ ।

विश्वमा बढ्दो हतियारको उन्माद र शक्ति राष्ट्रहरुबिचको तिव्र ध्रुवीकरणले अन्तराष्ट्रिय सहनशीलता दिवसको महत्व र आवश्यकता झन्झन् बढाउँदै लगेको छ ।