राष्ट्रपति पौडेलले गरे गाई पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिएको हो ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ ।

तिहारको चौथो दिन गोरुपूजा वा गोबर्द्धन पर्वतको पूजा गर्ने परम्परा छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ ।