चिउरी गाउँ पुगेर विरामीको उपचारमा डा. श्याम विक नेतृत्वको टोली

बिरेन्द्रनगर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. श्याम विक नेतृत्वको चिकित्सक टोली जाजरकोटको भूकम्प प्रभावितका विकट गाउँमा बिरामीहरुको उपचारमा खटिएको छ ।

डा. श्याम विक र अर्का डा. देवेन्द्र आचार्य सहितको टोलिले भूकम्पले अत्याधिक क्षतिग्रस्त बनेको नलगाड-१ स्थित चिउरी गाउँमा घरघरमा पुगेर प्राभावितहरुका टोल र घरघरमा पुगेर स्वास्थ परामर्श देखी बिरामीहरुको उपचार गरिराखेका छन् ।

नलगाड नगरपालिकाको बिकट क्षेत्रमा पर्ने गाउँ यतिबेला पूरा गाउँ नै शोकमा डुबेको छ । १९८ घरधुरी भएको यस गाउँमा अधिकांश दलित परिवारको बसोबास रहेको छ । 

शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पले यस गाउँमा बढि नै मानवीय र भौतिक क्षति पुर्‍यायो । एकै बस्तीका १३ जनाले भूकम्पमा परी ज्यान गुमाए । ४ महिला, ५ बालबालिका र ४ जना पुरुषको भूकम्पले ज्यान लियो ।

यस गाउँका अधिकांश घरहरु पुर्ण रुपमा भूकम्पले ध्वस्त पारेको छ भने केही घर आंशिक रूपमा क्षति भएपछि करिब ७ सय परिवार घरबारविहीन भएका छन् ।