‘राज्यले देशका युवा विद्यार्थीहरूलाई विदेशको भाडाका कामदार बन्न बाध्य बनायो’

इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश फर्काउन माग

काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मिलन राईले इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी तत्काल स्वदेश फर्काउन माग गरेका छन् ।

संगठनको केन्द्रीय समितीको तर्फबाट आईतबार साझ एक प्रेस वक्तव्य जारी गरेर संयोजक राईले इजरायलमा रहेका नेपाली नागरिक र युवा विद्यार्थीहरूको हालको अवस्थाको जानकारी गराउन माग गर्दै उनिहरूलाई तत्काल उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकार र इजरायलस्थित नेपाली राजदुतावाससँग जोडदार माग गरेको हो ।

संयोजक राईद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ, ‘वर्षौँदेखि इजरायल र अमेरिकाले प्यालेस्टाइनमाथि थोपरेको युद्धले थप जटिल र विस्फोटक रूपलिँदा सोही युद्धमा परेर नेपाली विद्यार्थीहरूले जीवन गुमाएको र घाईते भएको समाचार सार्वजनिक भएका छन् । इजरायलमा “Learn and Earn” कार्यक्रम अन्तर्गत चितवनको कृषि तथा वन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान र वन सङ्कायमा अध्ययन गर्न गएका विद्यार्थीहरू मध्ये हालसम्म १० जना विद्यार्थीहरू मारिएको र अरु घाईते भएको समचारबाट हाम्रो सङ्गठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

साथै उक्त विज्ञप्तिको अघाडी भनिएको छ, ‘दुनियाँमा हतियार र युद्धको व्यापार गरेर मानव जीवनसँग खेल्ने अमेरिकी साम्राज्यवाद मानवता विरोधी छ भन्नेकुरा अब कसैबाट लुकेको छैन । साम्राज्यवादको यही रबैयाले संसारलाई युद्धमा धकेलिरहेको छ, जसको पछिल्लो उदाहरण प्यालेस्टाइनी र युक्रेन युद्ध हुन् । त्यसैले अमेरिका र युद्ध अब पर्यायवाची भईसकेका छन्, जो यो युद्धको मुख्य कारक हो ।’

‘नेपाली विद्यार्थीहरूले इजरायलको बंकरबाट उद्दारको अपिल गर्दै पठाएका भिडियोहरू मिडिया र सामाजिक संजालमा सर्वजनिक भईरहँदा पनि नेपालको अमेरिकि कठपुतली दलाल सरकार लाचार बनेर रमिते बनिरहेको छ । नेपाली युवा विद्यार्थीहरूलाई विदेशको भाडाका कामदार बनाएर नेपालमा मोजमस्ति गरिरहेका शासकहरू कतिसम्म लाचार छन् भने नेपाली विद्यार्थीहरूको अवस्था के कस्तो छ भन्नेसम्म जानकारी गराउन सकेका छैनन् । जुन हाम्रा लागि दु:ख र राष्ट्रिय लज्जाको विषय हो ।, क्रान्तिकारीका संयोजक राईद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ ।’
  
त्यस्तै उनले नेपाली नागरिकलाई विदेशीका आधुनिक दास बनाएर पराईको भुमिमा मृत्युवरण गर्न बाध्य बनाउने नेपालको दलाल राज्यसत्तालाई नागरिकलाई निर्यात गर्ने काम बन्द गर्न पनि जोडदार माग गरेका छन् ।

साथै विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘देशका लागि पराई भुमिमा शिक्षा र श्रम गर्दैगर्दा मृत्युवरण गरेका नेपाली विद्यार्थीहरूप्रति हाम्रो सङ्गठन भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दु:खद क्षणमा सम्पुर्ण परिवारजनमा न्यानो समवेदना व्यक्त गर्दै अखिल (क्रान्तिकारी) सदा नेपालका तमाम विद्यार्थी र अभिभावकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ ।’

यस्तो छ विज्ञप्ति