इजरायलमा रकेट आक्रमण :  ७ जना नेपाली घाइते, १७ जना घेराबन्दीमा

काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।

हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरिन् । त्यस्तै उनले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइन् ।

‘नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर गरिसकेका छौँ । आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेका छौँ । विद्यार्थीहरूसँग नियमित सम्पर्क भइराखेको छ,’ उनले भनिन् ।

विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन् । ‘१७ जना कृषि फार्मको आवासभित्र छन् । उनीहरू बसेको घरबाहिर हतियारधारी हमासको समूहले घेरा हालेर राखेको छ,’ राजदूत रिजालले भनिन् । आफूहरू पनि कर्फ्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको उनले बताइन् ।

कान्तिपुरको सम्पर्कमा आएका एक जना नेपाली विद्यार्थी आफू आक्रमणमा परी घाइते भएको र उपचारको पर्खाइमा रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले समस्यामा परेका नेपालीलाई दूतावास र संघको सम्पर्कमा आउन आग्रह गरिएका कान्तिपुरलाई बताए । संघले शनिबार एक सूचना जारी गर्दै इजरायली सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ ।

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् । टाइम्स अफ इजरायलले हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ । सयौँ घाइतेमध्ये ७० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । इजरायली स्वास्थ्य मन्त्रालयले ‘प्यालेस्टिनी आक्रमण’ मा अहिलेसम्म ५४५ जना घाइते भएको जनाएको छ ।

हमासका हतियारधारी व्यक्ति दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । हमास नेता मोहम्मद डेफले शनिबार बिहान इजरायलतर्फ करिब ५ हजार रकेट आक्रमण गरेको बताएका छन् । हमास नेता डेफलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘अति भनेको अति नै हुन्छ भनेर हामीले आक्रमण सुरु गरेका हौँ ।’ हमासले इजरायलविरुद्ध ‘अपरेसन अल-अक्सा फ्लड’ सुरु भएको दाबी गरेको छ ।

हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले कडा प्रतिक्रिया दिएका छन् । ‘इजरायली जनसमुदाय, हामी युद्धमा छौँ, अपरेसनमा होइन ।’ हमासले शनिबार बिहानदेखि नै आश्चर्यजनक रूपमा इजरायली नागरिक र इजरायल राज्यविरुद्ध आक्रमण गरेको प्रधानमन्त्री नेतान्याहुले जनाएका छन् । ‘हाम्रा दुश्मनले उनीहरूले अहिलेसम्म थाहै नपाएको मूल्य चुकाउन पर्नेछ । म इजरायली सेना र होम कमान्डको निर्देशनलाई अनिवार्य रूपमा पालना गर्न निर्देशन दिन्छु । हामी युद्धमा छौँ र हामीले नै जित्नेछौँ ।’

त्यस्तै प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले आफ्ना नागरिकलाई प्रतिरक्षाको अधिकार भएको बताएका छन् । रोयटर्स समाचार संस्थाका अनुसार राष्ट्रपति अब्बासले ‘अतिक्रमणकारी सेना’बाट आफूलाई रक्षा गर्ने अधिकारी प्यालेस्टिनी नागरिकलाई भएको प्रतिक्रिया दिएका छन् । ्

पछिल्लो पटक २०२२ को अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिनामा इजरायल-प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो । ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजाका २५० जना र इजरायलका १३ जना मारिएका थिए ।

इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । त्यस क्षेत्रलाई उसले प्यालेस्टाइनलाई छाड्दिएको थियो । त्यसयता कैयौँ पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किँदै आएको छ ।  कान्तिपुर