सिंहदरबार पक्राउ परेका क्रान्तिकारीका संयोजक राई सहित १७ जनालाई छाडियो

काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले अहिले छोडेको छ ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको र अहिले भरखरै सबैलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएकामा अखिल (क्रान्तिकारी) का संयोजक मिलन राई सहितका १७ जना रहेका र उनीहरु सबैलाई अहिले सिंहदरबार वृत्तबाट छाडिएको हो ।

अन्य रिहा हुँनेमा विद्यार्थी संगठनका फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल, सह-संयोजकहरु बिरेन्द्र शाह र पेसल दाहाल, कार्यालय सदस्य प्रभात भट्टराई, प्रभात भट्टराई, सचिवालय सदस्यहरु गोबिन्द बिष्ट र लक्ष्मी शाह, केन्द्रिय सदस्यहरु नवराज विक, रोशन यादव, लक्ष्मण बम, पिके कलेज संयोजक लक्ष्मी पाण्डे, आरआर क्याम्पस संयोजक सर्जन पाण्डे, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस संयोजक राजन साउद, काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडी, त्रिचन्द्र क्याम्पस अध्यक्ष स्मृति कार्की, पशुपति क्याम्पस अध्यक्ष स्टालिन बस्नेत, काठमाडौं जिल्ला कार्यालय सदस्य समीर बिक रहेका छन् ।

उनिहरुले प्रस्तावित जनघाती, प्रतिगामी शिक्षा विधेयक – खारेज गर, शिक्षामा निजीकरण र व्यापारीकरण – अन्त्य गर, शिक्षाको सम्पूर्ण दायित्व राज्यले – बहन गर, निःशुल्क एवम् सिप, श्रम उत्पादनसँग जोडिएको वैज्ञानिक शिक्षा लागु गर, मन्त्री, जनप्रतिनिधि, राजनीतिक दलका ठुला नेता, विश्वविद्यालयका प्राध्यापक, उच्च पदस्थ कर्मचारीहरुले शिक्षामा लगानी गर्न नपाउने – व्यवस्था गर भनेर नाराबाजी गर्दै कडा सुरक्षा घेरामा रहेको सिंहदरबार भित्र घुस्न खोजेका थिए ।