योग्य र सक्षम व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको ढोका बन्द गरियो : संयोजक राई

सेवा आयोग मार्फत दरबन्दी परिपूर्ति गर्न माग

काठमाडौं, अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयको ढोका बन्द गरेको बताएका छन् ।

शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविको पछिल्लो निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै उनले योग्य र सक्षम व्यक्तिहरूलाई विश्वविद्यालयले ढोका बन्द गरेको बताएका हुन् ।

संगठनको तर्फबाट विहिवार एक प्रेस विज्ञप्ति जारी गर्दैं केन्द्रीय संयोजक राईले गयको असार १२ गते त्रिवि सभा बैठकले करार शिक्षण सहायक र कर्मचारीहरूलाई जस्केलाबाट स्वतः स्थायी गर्ने कुनियतले शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन गर्ने निर्णय गरेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भिर ध्यानाकर्षण भएको बताए ।

उनले खोज, अध्ययन र अनुसन्धानको पर्याय बन्नुपर्ने नेपालको सबैभन्दा ठुलो र जेठो ‘त्रिभुवन विश्वविद्यालय’ पछिल्लो समय निरन्तर धराशायी बन्दै गइरहेको बताउँदै उनले यसको प्रमुख कारण विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा नेताहरूको गुलामी गर्ने, असक्षम मान्छेहरूलाई नियुक्ति गरिनु भएको बताए ।

साथै संयोजक राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा प्रमुख प्रशासनिक पदमात्र होइन, सेवा आयोगमार्फत पदपूर्ति गर्नुपर्ने प्रध्यापक र कर्मचारीहरूसमेत राजनीतिक दलको पहुँचको आधारमा भर्ति गरिँदैछ । आङ्शिक ज्यालादारीको रुपमा विश्वविद्यालयमा प्रवेश गराएर करारहुँदै बिना प्रतिस्पर्धा स्वत: स्थायी गर्ने शृङ्खला विश्वविद्यालय सिध्याउने खेल हो । योग्य र सक्षम व्यक्तिहरूलाई त्रिविको ढोका बन्द गरेर संविधान प्रदत्त हक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनसमेत लत्याउँदै त्रिवि सिनेट बैठकले गरेको निर्णय हाम्रो सङ्गगठन‌लाई कदापी स्विकार्य छैन ।’

त्यस्तै उनले उक्त विश्वविद्यालय सिध्याउने निर्णय तत्काल खारेज गरी लामो समयदेखि नेतृत्वविहिन बनाइएको त्रिवि सेवा आयोगको नेतृत्व चयन गरी रितपूर्वक दरबन्दी परिपूर्ति गर्न माग गर्दै अन्यथा भएमा सङ्गठन विश्वविद्यालयको रक्षाको लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

यस्तो छ विज्ञप्ति