भन्सारले विमास्थलबाट जाँच पास गरेको ५० किलो बढी सुन राजश्वले समात्यो

काठमाडौँ : त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जाँच पास गरेको ५० किलो बढि सुन राजश्व अनुसन्धान विभागले फेला पारेको छ।

बुधवार बेलुका विभागले विमानस्थलको भन्सार नाका पास भएर आएको सामान नियन्त्रणमा लिएको थियो। सामान लिन आएका व्यक्ति र ट्याक्सी चालक नियन्त्रणमा लिएर छानबिन गर्दा स्कुटर र मोटरसाइकलको पार्ट्सभित्र सुन लुकाएर ल्याएको खुलेको अनुसन्धान सम्बद्धस्रोतले उकेरालाई बतायो।

स्रोतका अनुसार सुन तौलने क्रम जारी छ। अहिलेसम्मको तौलमा ५० किलो बढी सुन फेला पर्ने स्रोतले बतायो।

कार्गोबाट भित्रिन थाल्यो सुन

यस अगाडि सुटकेस लगायतका स्थानमा फल्स बटम बनाएर तस्करीको सुन भित्रिने गरेकोमा पछिल्लो समय विभिन्न सामानभित्र सुन लुकाएर कार्गोमार्फत सुन तस्करी हुने गरेको खुलेको छ।

बुधवार बेलुका फेला परेको सुन पनि कार्गोबाट आएको सामानभित्र लुकाइएको अवस्थामा फेला परेको हो। यस अगाडि भेपभित्र सुन लुकाएर ल्याएको खुलेको थियो।

यस अगाडि त्रिभुवन विमानस्थलमै सामसुङ ब्रान्डको मोबाइलभित्र सुन लेपन गरेर, कपडामा सुन लेपन गरेर पनि सुन तस्करी हुने गरेको खुलेको थियो।

तस्करी भएर भित्रिएको ३३ किलो सुन हराउँदा सुन तस्करी समूहका सदस्यकै हत्या भएपछि तस्करीको सुन फेलापर्नेक्रम घटेको थियो। बुधवारको घटनाले सुन तस्करीमा संलग्न सङ्गठित समूह पुन सक्रिय भएको देखिएको छ।