प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर : पूर्वउपकुलपतिहरू

काठमाडौं, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरूले उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्नेहरू विरुद्धको मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर्न माग गरेका छन्।

सरकारको यो निर्णयले शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं आपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने पूर्व उपकुलपतिहरूको निष्कर्ष छ। बुधबार जारी विज्ञप्तिमा उनीहरूले भनेका छन्, “मन्त्रिपरिषद्को उक्त निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाती भएको देखिन्छ।” 

यस्तो माग राख्ने पूर्व उपकुलपतिहरूमा अर्जुन कार्की, कमलकृष्ण जोशी, त्रिरत्न मानन्धर, खगेन्द्र भट्टराई, तोरणबहादुर कार्की, नवीनप्रकाशजंग शाह, महेशकुमार उपाध्याय, हिराबहादुर महर्जन र केदारभक्त माथेमा छन्। 

सरकारले ३० जेठमा चलाउनेमाथि आक्रमण गर्नेहरू विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। यो निर्णय विरुद्ध अनशन शुरू गरेका चलाउनेले सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन् ।