सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय संचालन गर्न माग

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय संचालन गर्न माग गरेको छ ।

बुधवार संगठनका केन्द्रीय अध्यक्ष मिलन राईले एक प्रेस विज्ञप्ति जारी गर्दैं सरकारद्धारा प्रस्तावित सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय तत्काल संचालन गर्न माग गरेका छन् ।

अध्यक्ष राईद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सुदुरपश्चिममा मेडिकल कलेज बारे वि.स. २०५५ देखि निरन्तर आवाज उठेर वि.स. २०६६ मा घोषणा भई वि.स. २०७३ साल देखि कैलालीको गेटामा निर्माण कार्य थालनी भएको थियो । प्रस्तावित गेटा मेडिकल कलेज स्थापनार्थ सुदुरपश्चिमेली जनताको धेरै ठूलो त्याग र संघर्ष रहेको कुरा सर्वविदित्तै छ ।’

त्यस्तै विज्ञप्तिको अगाडी भनिएको छ, ‘विगतमा मेडिकल कलेज संचालनको सन्दर्भमा राज्यले उदासिनता र गैर जिम्मेवारीपनको देखाउदै आएको थियो । पछिल्लो समय मेडिकल कलेजको रुपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर संचालन गर्ने भन्ने विषय छलफल भएको थियो । तर यस सन्दर्भमा हाम्रो सङ्गठन, अन्य सरोकारवाला सबैको अडान र माग के थियो भने कुनै पुरानो विश्वविद्यालय प्रणाली अन्तर्गतको मेडिकल कलेज वा शिक्षा क्षेत्रको दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको रुपमा नभई सुदुरपश्चिम मेडिकल विश्वविद्यालयको रुपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुनेछ भन्ने थियो । त्यही संघर्षको प्रतिफल स्वरुप नेपाल सरकारको मन्त्रीमण्डल द्वारा २०७९ माघ १९ गते सहिद शहिद दशरथचन्द मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरिएको थियो जुन स्वागतयोग्य थियो । तर नेपाल सरकारको ८०/८१ को बजेट भाषणमा स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनार्थ बजेट छुट्टाईएको कुरा आएको छ। जुन दुःखद र भत्सर्ना योग्य छ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले पटकपटक सु.प. का जनताहरु सङ्ग गरेको प्रतिबद्धता र आफ्नै मन्त्रीमण्डलले गरेको निर्णय लत्याउने कुरा अस्वाभाविक र अमान्य छ । हाल नेपालमा एउटा पनि मेडिकल विश्वविद्यालय नभएको सन्दर्भमा यो विषय सुदुरपश्चिमका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा, रोजगार र आर्थिक समृद्धि सबै राष्ट्रिय गौरवको रुपमा समग्र देशलाई नै दुरगामी टेवा पुर्याउने गरि सोचिनु पर्छ । यो सन्दर्भमा प्रस्तावित सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय तत्काल संचालनका लागि शैक्षिक कार्यक्रम संचालनको नमूना तयार गरि प्रारम्भिक चरणको पठनपाठन सुचारु गर्न राज्य सङ्ग जोडदार माग गर्दछौं ।’

त्यस्तै विज्ञप्तिको अन्तमा, ‘मेडिकल विश्वविद्यालय स्थापनाका लागि अहिले सुदुरपश्चिममा संयुक्त विद्यार्थी संगठन, राजनीतिक दल लगायत विभिन्न संघ संस्थाहरु द्वारा आन्दोलन चलिरहेको छ उक्त संघर्षमा हाम्रो संगठनको जोडदार एक्यवद्धता जाहेर गर्दछौं। यसका लागि थप एकताबद्ध भई आवाज उठाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सम्पुर्ण आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’

यस्तो छ विज्ञप्ति