चिट चोरेको भन्दै परीक्षा हलबाट निकालिए पछि मेडिकल कलेजकी छात्राद्धारा आत्महत्या

काठमाडौं, चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको बताए । उनले भने, ‘चिट चोरेको कारणबाट परीक्षा हलबाट उनी निकालिएकी थिइन् त्यसपछि उनी कोठामा गएर आत्महत्या गरेको बुझिएको छ ।’

प्रहरीका अनुसार पाल्पा रामपुर स्थायी घर भइ पोखरा बस्ने मृतक थापा भरतपुरको सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् । उनले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । मेडिकल कलेजका विद्यार्थीहरुले आज प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनी आत्महत्या गर्न बाध्य भएको जनाइएको छ । विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।