इतिहासमा हरेक तानाशाहको अस्तित्व समाप्त भएको छ : मिलन राई

काठमाडौं, अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मिलन राईले इतिहासमा हरेक तानाशाहहरुको अस्तित्व समाप्त भएको बताएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) लाई उनले आइतबार आफ्नो सामाजिक सन्जाल फेसबुकमा लामो प्रतिकिया लेख्दै निरङ्कुश दिशामा लम्किने इतिहासका हरेक तानाशाहहरुको अस्तित्व समाप्त भएको बताएका हुन् ।

काठमाडौं महानगर भित्रका शिक्षण संस्थामा विद्यार्थी संगठनलाई प्रतिबन्धित गरेपछि अखिल (क्रान्तिकारी) ले महानगर शिक्षा शाखामा तालाबन्दी गरेको थियो । लगाइएको उक्त ताला महानगरको आदेशमा प्रहरीले तोडेपछी बालेन सरकार र विद्यार्थी संगठन विच आरोप प्रत्यारोप चलेको छ । यसै बिषय प्रति आक्रोशित हुँदै संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका राईले सामाजिक सन्जाल मार्फत बालेन सरकारलाई कडा प्रश्न गरेका छन् ।

‘बालेन जि ! तपाईं जस्तै भिएस निकेतन र हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा लाखौं तिरेर नेपालका झण्डै ९०% जनताको छोराछोरी पढ्न सक्दैनन् भन्ने कुरा तपाईंलाई थाहा छ ? नेपालको संविधान २०७२ को धारा ३१(२) आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेर मौलिक हकको रुपमा व्यवस्था गरेको छ तर यहाँ निजी विद्यालयको कुरा छोडिदिनुस सरकारी सामुदायिक विद्यालयले विभिन्न बहानामा चर्को शुल्क असुल्ने गरेको के तपाईंलाई जानकारी छैन ? १६/१८ घण्टा पसिना बगाएर अभिभावकले आफ्नो सन्तान राम्रो विद्यालयमा पढाउन नसक्नुको पिडा तपाईं बुझ्नुहुन्न । एसइईमा राम्रो नतिजा ल्याएर पनि पैसा नभएकोले भर्ना गर्न नसकेर साहुसँग ऋण लिएर पढ्ने इच्छा मारेर रुदै विदेशीनु परेको पिडा सायद तपाईं बुझ्नुहुन्न’ भन्दै प्रतिप्रश्न गरेका छन् ।

यस्तो छ विद्यार्थी नेता राईको प्रतिक्रियाको पुर्ण पाठ :

बालेन जि आउनुस छलफल गरौँ !
बालेन जि ! तपाईं जस्तै भिएस निकेतन र हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा लाखौं तिरेर नेपालका झण्डै ९०% जनताको छोराछोरी पढ्न सक्दैनन् भन्ने कुरा तपाईंलाई थाहा छ ? नेपालको संविधान २०७२ को धारा ३१(२) आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेर मौलिक हकको रुपमा व्यवस्था गरेको छ तर यहाँ निजी विद्यालयको कुरा छोडिदिनुस सरकारी सामुदायिक विद्यालयले विभिन्न बहानामा चर्को शुल्क असुल्ने गरेको के तपाईंलाई जानकारी छैन ? १६/१८ घण्टा पसिना बगाएर अभिभावकले आफ्नो सन्तान राम्रो विद्यालयमा पढाउन नसक्नुको पिडा तपाईं बुझ्नुहुन्न । एसइईमा राम्रो नतिजा ल्याएर पनि पैसा नभएकोले भर्ना गर्न नसकेर साहुसँग ऋण लिएर पढ्ने इच्छा मारेर रुदै विदेशीनु परेको पिडा सायद तपाईं बुझ्नुहुन्न। शिक्षा नियमावली र निर्देशिकाको प्रावधान विपरीत निजी विद्यालयले टाइ, बेल्ट, पाठ्यपुस्तक, स्टेसनरी बेचिरहेको के तपाईंलाई थाहा छैन ? नियम विपरीत विभित्र नाममा शुल्क उठाइरहेको तपाईंलाई थाहा छैन ? विद्यालयले सञ्चालन गर्ने बसमा सिट भन्दा बढी विद्यार्थी कोचेर बोकिरहेको तपाईंलाई जानकारी छैन ? अनुगमन किन गर्नुहुन्न ? के शिक्षा नियमावली र निर्देशिकाले भने अनुसार नै कक्षाकोठा, लाइब्रेरि, सौचालय, ल्याब, डेस्क, बेन्च, खानेपानी, होस्टल आदि दुरुस्त छन् ? किन अनुगमन गर्नुहुन्न ? शिक्षा नियमावलीले भने अनुसार संस्थागत विद्यालयले १०% दिनुपर्ने छात्रवृत्ति विद्यालयले दिइरहेका छन् कि छैन ? वितरण पारदर्शी छ कि छैन कहिले बुझ्नुभएको छ ? संविधान र शिक्षा नियमावलीमा माध्यमिक तहसम्मको शिक्षामा विदेशी पाठ्यक्रम पढाउन पाइदैन तर IB, OB र A- LEVEL का नाममा मासिक १.५ लाख सम्म शुल्क लिएर प्रक्रियामा district level certificate र see को certificate दिएर अवैधानिक काम गरिरहेको मेसो पाउनुभएको छ कि छैन ? मापदण्ड विपरीत संरचनाहरु हटाइरहनु भएको छ तर निजी विद्यालय सञ्चालन गर्न निश्चित दुरिको मापदण्ड विपरीत विद्यालयहरुलाई किन कार्वाही गर्नुहुन्न ? विद्यालयको एक तहमा भर्ना भएको विद्यार्थीले पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नु नपर्ने कानुनी व्यवस्था छ तर अधिकांश विद्यालयले वर्षेनि भर्ना लिएर शुल्क असुलिरहेको के थाहा पाउनुभएको छैन ? नियम विपरीत शैक्षिकसत्र सुरु नहुदै विद्यालयहरुले भर्नाको लागि विज्ञापन गरिरहेको र भर्ना गरिरहेको देख्नुभएको छैन ? international लेखिएको विद्यालयमा कम्तीमा १% विदेशी विद्यार्थी हुनुपर्ने प्रावधान छ के ती विद्यालयमा यी नियमहरु लागू भएका छन् ? विद्यालयमा भर्ना हुनका लागि प्रवेश परिक्षा दस्तुर १२५ रुपैयाँ भन्दा बढी लिन नपाइने प्रावधान छ तर विद्यालयहरुले ५०० देखि ५००० सम्म प्रवेश परिक्षा दस्तुर लिइरहेको तपाईंलाई थाहा पाउनु भएको छ कि छैन ? तपाईंको महानगरमा कति होस्टल, कन्सल्टेन्सि अवैधानिक ढङ्गले सञ्चालित छ तपाईंलाई कुनै हेक्का छ ? अभिभावकहरु हरेक दिन ठगिएका छन्, लुटिएका छन् ।
उपरोक्त विषयहरूमा हाम्रो संगठनले २/२ पटक तपाईंको कार्यालयमा मागपत्र बुझाएको छ तर तपाईंले कुनै सुनुवाइ गर्नु भएन । वार्ता र संवादबाट भाग्न खोज्ने तपाईंको कस्तो प्रवृत्ति हो ? उपरोक्त कानुन विपरीत भइरहेको काममा तपाईं किन मौन हुनुहुन्छ ? कि तपाईंलाई पनि उनिहरुबाट ठूलै कमिसन आउँछ र चुप हुनुहुन्छ ? उल्लेखित विषयहरुमा त तपाईंको कहिले सुचना जारी भएको देखिएन । सस्तो लोकप्रियता कमाउन भ्रम छर्न छोडिदिनुस बालेन जि ! जसरी हाम्रो संगठनले ताला लगाएको फोड्न तम्सिनु भयो त्यसरी नै विद्यालयहरुमा शिक्षा नियमावली र निर्देशिका लागु गर्न तदरुकता देखाउनु भएको भए शिक्षामा आम सुधार हुने थियोे, लाखौं विद्यार्थी र अभिभावक तपाईंप्रति कृतज्ञ हुने थिए ।
जहासम्म विद्यार्थी संगठनको गतिविधि विद्यालयमा भएको विषयलाई अपभ्रंस गरेर भ्रम छर्न खोजिरहनु भएको छ त्यो बन्द गर्नुस् । विद्यार्थी छात्रा माथि यौनजन्य हिंसा हुदा तपाईंको संयन्त्रले मिलेमतोमा मिलाउन खोज्दा हाम्रो संगठनले विद्यार्थीको न्यायका लागि लिएको पहल र संघर्षलाई अवाञ्छित गतिविधि भन्न खोज्नुभएको हो भने हो हामीले विद्यार्थीको न्यायको लागि पहल र संघर्ष गरेकै हो । विद्यालयमा भ्रष्टाचार हुदा संघर्ष गरेकै हो । कक्षा छोडेर राजनीतिक कार्यक्रममा सहभागी हुने शिक्षकका विरुद्ध संघर्ष गरेकै हो । नियम विपरीत शुल्क असुल्ने विद्यालयबारे पटकपटक औपचारिक र अनौपचारिक जानकारी दिदा पनि तपाईंको महानगरले केही नगरेपछि हामीले संघर्ष गरेकै हो । स्व्च्छ खानेपानी, सुविधासम्पन्न लाइब्रेरी, सफा सौचालय, नियमित पढाइ, आधुनिक ल्याब लगायतका विषयमा पनि मागपत्र राखि संघर्ष गरेकै हो । व्यवस्थापन समिति बनाउदा होस या प्रधानाध्यापक र शिक्षक नियुक्ति गर्दा हुने राजनीतिक भागबण्डाको विरोध गरेकै हो र हामीलाई यी सब गर्न तपाईं होइन कसैले रोक्न सक्दैन । हामी दावाको साथ भन्न सक्छौं हाम्रो उपस्थिति जहा छ त्यहा विद्यार्थीको नियमित अध्ययनमा कहि कतै अवरोध गरिएको छैन बरु नियमित पठनपाठनका लागि प्रशासनलाई बाध्य पारिएको छ । शिक्षकलाई जिम्मेवार बनाउन पहल लिइएको छ, विद्यार्थीको व्यक्तित्व विकासमा मद्दत गरिएको छ र हामी जहा छौँ विगतको तुलनामा नतिजामा सुधार आएको छ । घृणित राजनीतिको सिकार शिक्षा क्षेत्रलाई बनाउन हुन्न विषयमा भने हामी सचेत छौँ । हाम्रो भूमिका विद्यार्थीको अधिकार स्थापित गराउने र शैक्षिक गुणस्तर सुधारमा हुनुपर्छ भन्नेमा प्रतिबद्ध छौँ ।

अन्यायका विरुद्ध बोल्न पाउने, संघर्ष गर्न पाउने, संगठित हुन पाउने अधिकार हामीले हजारौं वीर योद्धाहरु गुमाएर लडेर ल्याएको अधिकार हो । विद्यालयमा प्रवेश गर्न रोक लगाउने तपाईं को हो ? तपाईं महेन्द्रपथमा निरङ्कुश हुने दिशामा नलम्किनुस । इतिहासमा हरेक तानाशाहको अस्तित्व समाप्त भएको छ । अन्यायका विरुद्ध नबोलुन, सचेत नबनुन, संगठित नहुन र मनोमानी गरौं र लुटतन्त्र मच्चाउन पाउ भन्ने तपाईंको षड्यन्त्र हो भने दुस्साहस नगर्नुहोस् त्यो सम्भव छैन । आज शिक्षामा जे जति समस्या देखिएका छन् के ती सबै विद्यार्थी संगठनका कारणले हुन ? कि तपाईहरु जस्ताको निकम्मापनले गर्दा हो । राज्य र तपाईं आफ्नो असक्षमता लुकाउन विद्यार्थी संगठन माथि दोष नथोपरियोस बालेन जि ! के विद्यार्थी संगठन विद्यालयमा प्रवेश निषेध गरेपछि विद्यार्थी कामका लागि विदेश जानु पर्दैन ? के विद्यार्थीको नतिजामा सुधार आउँछ ? के पैसा नभएर पढ्न नपाउने स्थितिको अन्त्य हुन्छ । हामीलाई कुनै पनि नियम र कानुनले विद्यालयमा प्रवेशमा गर्न रोक लगाएको छैन । हिजो टाउकोमा बन्दुक तेर्साउदा नझुकेको हाम्रो संगठन तपाईंको तानाशाही आदेशले तर्साउन नखोज्नुस सम्भव छैन ।
बालेन जि ! सस्तो लोकप्रियताको लागि ढोङ्ग गर्न छोडेर कक्षामा पठनपाठन स्थगित गरेर राजनीतिक कार्यक्रममा सहभागी हुने शिक्षकलाई कार्बाही गर्नुस्, नियम नमान्ने र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई कार्बाही गर्नुस, शिक्षा नियमावली र निर्देशिका पुर्णरुपमा कार्यान्वयन गराउनुस, कम्तीमा सरकारी र सामुदायिक विद्यालयमा पुर्ण निःशुल्क शिक्षालाई कार्यान्वयन गरनउनुस । हामी तपाईंको साथमा हुनेछौं तपाईंको वाहवाहि गर्नेछौं । हाम्रो तालाबन्दीको विषयलाई जसरी अर्थको अनर्थ बनाएर प्रचार गर्नुभयो यस्ता घटिया काम गर्न बन्द गर्नुस् । हाम्रो तालाबन्दी तपाईंको तानाशाही कदमको विरुद्ध हो, शैक्षिक सुधारका लागि २/२ पटक माग राख्दा पनि गरिएको बेवास्ताको विरुद्ध हो , राज्यका हरेक निकाय जिम्मेवार बन्नुपर्छ भन्नका लागि हो । हामी वार्ता र संवादबाट समाधान चाहान्छौं । आशा छ तपाईं सकारात्मक बन्नुहुनेछ तर हाम्रो आवजलाई दमन गर्नुभयो, निरङ्कुशता लाद्नुभयो भने प्रतिवाद त जरुर हुन्छ ।