अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन। उनीमाथि ३४ आरोप लगाइएको छ। यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्। म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएका छन्।​

तर ट्रम्पले आफूले कुनै अपराध नगरेको भन्दै जघन्य घटनामा आरोपित हुन अस्वीकार गरेका छन्। ट्रम्पले आफ्नो व्यापार रेकर्डमा कुनै गल्ती नगरेको पनि बताएका छन्।​ म्यानहट्टन अदालतमा न्यायाधीश जुआन मार्चानको अगाडि उनले आफूले कुनै अपराध नगरेको बताए।

उनले राज्यले आफूलाई पटक पटक गलत आरोप लगाएर गैर नागरिकलाई जस्तो व्यवहार गरेको गुनासो गरेका छन्। कुनै प्रमाणविना सन् २०१६ देखि नै आफूमाथि नियोजित आक्रमण भइरहेको उनको भनाइ छ। उनले आफ्नो देश नरकमा जाँदै गरेको पनि बताएका छन्।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुनः प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका ७६ वर्षीय ट्रम्प फौजदारी अभियोग लाग्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले आफूविरुद्धका आरोप असत्य भएको भन्दै यसलाई राजनीतिक उत्पीडन र निर्वाचनमा गरिएको इतिहासकै उच्चतम् हस्तक्षेप भनेका छन्।