वाइसीएलले बुझायो बाँकेका सिडियोलाई ज्ञापनपत्र

नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो ।

सङ्गठनका बाँके  जिल्ला इन्चार्ज किस्मत अलि शेष, जिल्ला संयोजक आकाश कार्की र सचिब नरेन्द्र ददेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दायर गर्नु षडयन्त्र भएको जनाउँदै त्यसप्रति वाईसिएल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सो सङ्गठनले विभिन्न ५ बुँदे माग समेत अघि सारेको छ ।

विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन  लगायत व्यवस्था परिवर्तनका आन्दोलनहरूमा ज्यान गुमाएका योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई  सम्मानित वातावरमा बाँच्न सक्ने गरी उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले उक्त ज्ञापन पत्र नेपाल सरकारलाई पठाउने बताउनु भएको छ । ज्ञापन पत्र बुझाउन वाइसीएल नेपालका केन्द्रिय उपमहासचिव रतन बहादुर शाहीको समेत उपस्थिति रहेको थियो ।