दुई रेलमार्गबीच तादात्म्यता मिलाउने तयारी

काठमाडौं । सरकारले निर्माण सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ ।

रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए । भारतीय पक्षले रक्सौल–काठमाडौँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको छ ।

भारतीय पक्षलाई लिखितरूपमै निजगढ खण्डको केही सूचना दिनका लागि भनिएको समेत उनको भनाइ छ । उनले भने, ‘एउटा रेलबाट अर्काे रेलमा यात्रु कसरी परिवर्तन गर्ने, कसरी चढाउने र झार्ने, कसरी सामान एउटाबाट अर्काेमा हाल्ने र कसरी मालसामान ढुवानी गर्ने भनी मिलाउनु पर्ने हुन्छ ।’

भारतीय कम्पनी कोंकण रेल्वे कम्पनी लिमिटेडले अध्ययनको काम गरिरहेकाले पहिले लिखितरूपमै पठाइएको प्रवक्ता चित्रकारले बताए । त्यहाँबाट जवाफ नआएपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट परराष्ट्र मन्त्रालय हुँदै भारतीय पक्षलाई अनुरोध गरिएको छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत अहिले निजगढ–भरतपुर खण्डको डिपिआर अध्ययन भइरहेको छ । पहिले सबै खण्डको अध्ययन भइसकेको भए पनि यो खण्डमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने भएकाले पुनः अध्ययन भइरहेको प्रवक्ता चित्रकारको भनाइ छ । पहिलेको रेखाङ्कन चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रहेकाले अहिले त्यहाँबाट नलगेर निजगढबाट हेटौँडा हुँदै भरतपुर लैजाने गरी डिपिआर भइरहेको उनले बताए ।

सरकारसँग भारतीय पक्षले गरेको सम्झौता (एमओयु) अनुसार सो अध्ययन प्रतिवेदन सुरु भएको १८ महिनामा दिनुपर्ने उल्लेख छ । प्रारम्भिक अध्ययनका आधारमा काठमाडौँ–रक्सौल रेलमार्गको लम्बाइ एक सय २६ किमी अनुमान गरिएको थियो । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल वरपरबाट घुमाएर गर्दा लम्बाइ केही बढ्न सक्ने देखिएको छ ।

रक्सौल–काठमाडौँ रेलमार्ग ब्रोड गेजमा अध्ययन भइरहेको छ भने पूर्व–पश्चिम रेलमार्ग अहिले पछिल्लो चरणमा स्ट्याण्डर्ड गेजमा अध्ययन भइरहेको छ । भारत सरकारले निर्माण गरिरहेको अरु रेलमार्ग पनि ब्रोड गेजका छन् । चीन सरकारले सुरु गरेको काठमाडौँ–केरुङ रेलमार्ग भने स्ट्याण्डर्ड गेजमै छ ।