मस्तिष्क मृत्यु भएकी किशोरीबाट तीन जनाले पाए नयाँ जीवन

दुई मृगौला र कलेजो सफल प्रत्यारोपण

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिएका हुन् । उनले भने, ‘गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु भएकी १७ वर्षीया युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ ।’

दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिराहा जिल्ला सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । साथै ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको थियो ।

केन्द्रले २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । हालसम्म केन्द्रमा पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको डा. श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गर्छ तर अत्यन्त न्यून संख्यामा अङ्ग दान हुने गरेको छ ।