बदलाको धम्कीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

काठमाडौं, उत्तर कोरियाले लामो दुरीको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। उसले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो एक्स्क्लुसिभ इकोनोमिक जोनमा खसेको जापान सरकारले जनाएको छ।

जापानी रक्षा मन्त्रालयका अनुसार सो क्षेप्यास्त्र ६६ मिनेट उडेर जापान सागरमा खसेको हो। केही दिनअघि उत्तर कोरियाले विशाल सैन्य परेड आयोजना गर्दै एक दर्जनभन्दा बढी त्यस्ता क्षेप्यास्त्र प्रदर्शन गरेको थियो।

शुक्रबार मात्र सो मुलुकले अमेरिकी र दक्षिण कोरियाले सैन्य अभ्यास गरे अभूतपूर्व रुपमा कठोर जवाफ दिने बताएको थियो। ती दुई देशले अर्को महिना सैन्य अभ्यास गर्दैछन्। उत्तर कोरियाले भने त्यस्ता अभ्यासलाई आफूमाथि आक्रमणको तयारीका रुपमा लिने गरेको छ।

शनिबारको क्षेप्यास्त्र होक्काइडोनजिकै जापानी एक्स्क्लुसिभ इकोनोमिक जोनमा खसेको प्रधानमन्त्री फुमियो किसिदाले बताएका छन्। एक्स्क्लुसिभ इकोनोमिक जोन पूर्ण रुपमा सो मुलुकको क्षेत्राधिकारभित्र पर्छ। 

जापानले पनि किनाराबाट २०० नटिकल माइलको दुरीसम्म पूर्ण क्षेत्राधिकार राखेको छ।

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र ५ हजार ७०० किलोमिटरको उचाइमा पुगेको थियो, जुन ९०० किलोमिटर टाढा पुगेर खसेको थियो।

यसअघि नोभेम्बरमा प्रहार गरेको क्षेप्यास्त्र ६ हजार १ सय किलोमिटर उचाइमा पुगेको थियो। 

शनिबार प्रहार गरिएको क्षेप्यास्त्रले सम्भवतः १४ हजार किलोमिटर दुरी पार गर्न सक्ने जापानका रक्षामन्त्री हमादा यासुकाजुले बताए। एजेन्सी