पाकिस्तानी विद्यार्थी आन्दोलनमा नेपालको ऐक्यबद्धता

काठमाडौं, नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), क्रान्तिकारी विद्यार्थी एकता, बंगलादेश र क्रान्तिकारी विद्यार्थी मोर्चा, पश्चिम बंगालले पाकिस्तानी विद्यार्थीको आन्दोलनमा समर्थन जनाएका छन् ।

विद्यार्थी युनियन पुनःरुत्थानका लागि पाकिस्तानको राष्ट्रिय विद्यार्थी महासंघले घोषणा गरेको ‘लङमार्च’ लाई दक्षिण एसियाका तीन वटा मुलुकका विद्यार्थी संगठनहरुले समर्थन गरेका हुन् । तीन दशकदेखि विद्यार्थी युनियनमा प्रतिबन्ध लगाइएको पाकिस्तानको ओकारा शहरबाट लाहोरसम्म १७५ किलोमिटर ‘लङमार्च’ गरिँदैछ । माघ १८ गते घोषणा गरिएको ‘लङमार्च’ को उद्देश्य प्रजातान्त्रिक राज्यहरुमा विद्यार्थी युनियनको पुनःस्थापना गर्नु रहेको बताइएको छ । 

युनियन खोल्न पाउनु हरेक विद्यार्थीको अधिकार भएको उल्लेख गदै विद्यार्थी संगठनहरुले यसलाई पाकिस्तानको ऐतिहासिक विद्यार्थी आन्दोलनको संज्ञा दिएका छन् ।  ‘हामीलाई लाग्छ कि यो पाकिस्तानको इतिहासमा ऐतिहासिक विद्यार्थी आन्दोलन हो’, जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानमा जनताको लोकतन्त्र फस्टाउन नसक्नुको एउटा मुख्य कारण शैक्षिक संस्थाहरुमा विद्यार्थी युनियनको अभाव हो ।’

नियमित विद्यार्थी युनियनको निर्वाचन नहुने मुलुकमा लोकतन्त्र फस्टाउन नसक्ने विद्यार्थी संगठनहरुको ठम्याई छ । राजनीतिक र लोकतान्त्रिक नेतृत्वको नर्सरी विद्यार्थी युनियन भएको पनि उनीहरुको ठहर छ । 

प्रगतिशील समाज स्थापनाको निम्ति पनि विद्यार्थी आन्दोलन आवश्यक भएको विद्यार्थी संगडठनहरुको बुझाइ छ । ‘पाकिस्तानमा सन् १९८४ फेब्रअरी ९ देखि विद्यार्थी युनियनमा प्रतिबन्ध लगाइएको छ । यो निकै लज्जास्पद विषय हो । विद्यार्थी युनियनहरुको अभावमा शिक्षा प्रणाली बलियो हुन सक्दैन्,’ उनीहरुले उल्लेख गरेका छन् ।