रविको प्रतिक्रिया : म कुनै देशको नागरिक रहिनँ, मसँग अहिले कुनै जवाफ छैन

प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै रवि लामिछाने

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले बालुवाटार गएर राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले जानकारी दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको थियो ।
‘म कुनै देशको नागरिक रहिनँ, रास्वपाको अध्यक्ष पनि भइन्’रवि लामिछानेले आफू अहिले अनागरिक बनेको बताएका छन् । गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताएका छन् ।

‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहिनँ । अहिले मसँग कुनै जवाफ छैन’ उनले भने । अदालतको आदेशसँग आफू रास्वपाको अध्यक्ष पनि नभएको उनले बताए ।