रवि लामिछानेले रास्वपाको सभापति पद पनि गुमाए

काठमाडौं । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेसँगै सांसद पद गुमाएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पद समेत गुमाउने भएका छन् ।

सर्वोच्चको फैसलापछि कानुनतः लामिछानेको पार्टी सभापति पद गएको निर्वाचन आयोग उच्च स्रोतले बताएको छ । उनले २०५० लिएको नागरिकता नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेश गरेको निवेदन पनि अवैध भएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया अघि नबढाएकै कारण लामिछानेले सांसद पद गुमाएका हुन् ।

यसैबीच वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रविको नागरिकता कायम हुन नसकेको फैसला सुनाएको हो ।

‘रविको नागरिकता गैरकानुनी हो भन्ने थाहा भएकै कुरा हो, सोही अनुसार फैसला आयो । यो फैसलाले रवि लामिछानेको पद गयो’, संग्रौलाले भने, ‘पार्टीको हकमा अध्यक्ष फेर्दा हुन्छ । अब उहाँ नेपाली नागरिक नै नभएपछि उहाँको अध्यक्षतामा कसरी पार्टी हुन्छ र ? स्वतन्त्र पार्टी भने रहन्छ ।’