हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १८ जनाको मृत्यु

किएभ । युक्रेनको राजधानी किएभको बाहिरी भेगमा रहेको शिशु पाठशाला नजिक बुधवार भएको हेलिकप्टर दुर्घटनमा परि युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना बालबालिकाको पनि ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । आन्तरिक मामिला मन्त्रालयका कैयौँ उच्च अधिकारी, आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ ।

अनलाइनमा पोस्ट गरिएको एउटा भिडियोमा हेलिकप्टरमा आगो लागेको देखिन्छ भने रुवावासी भएको आवाज सुनिन्छ । दुर्घटनाको सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । ४२ वर्षीय आन्तरिक मामिला मन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुन् । उनी दुई वर्षअघि मन्त्री नियुक्त भएका थिए ।

१० जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।