सन्दीप लामिछाने धरौटीमा रिहा, विदेश जान रोक

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइ दिएको छ । इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले विहीबारको बहसपछि जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै आदेश उल्टाएको हो । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

बहसमा सन्दिपको तर्फबाट उपस्थित कानुन व्यवसायीहरुले प्रत्यक्ष प्रमाणको अभावमा सन्दीपलाई थुनारमा राख्ने आदेश बेरितको रहेको जिकिर लिएका थिए । जाहरेवालाको बयानको आधारमा मात्र सन्दीपलाई थुनामा राख्न नहुने तर्क गरेका थिए ।

नाबालिग भन्दै आएकी जाहरेवाला पनि हालै प्राप्त प्रमाणको आधारले बालिग पुष्टि हुने देखिएको बहसमा उल्लेख गरिएको थियो । साथै इजलासलाई सन्दीपको मानसिक अवस्था विग्रिँदै गएको व्यवसायीले जानकारी दिएका थिए ।

सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरु सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले गरेका थिए । त्यस्तै जाहरेवालाको तर्फबाट तीन जना कानुन व्यवसायी र सरकारको पक्षबाट एक जना सरकारी वकीलेले बहस गरेका हुन् ।

दुवै पक्षको बहसपछि इजलासले जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै सो आदेश उल्टाएको छ । यस सँगै सन्दीपलाई पुर्पक्षका लागि धरौट लिई तारिखमा छाडेको छ ।