त्रिवि परिक्षा नियन्त्रकको कार्यकक्षमा अखिल क्रान्तिकारीको तालाबन्दी

परीक्षा नियन्त्रको राजनीतिमा माग

काठमाडौं, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकको कार्यकक्षमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।विद्यार्थीको परीक्षा फल प्रकाशनमा ढिलासुस्ती गर्नुका साथै झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएर कार्यालयले गम्भीरता लापरबाही गरेको भन्दैँ क्रान्तिकारीले बल्खु स्थित परीक्षा नियन्त्रक पुष्पराज जशीको कार्यकक्षमा आईतबार तालाबन्दी गरेको हो ।

सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितीका इन्चार्ज गोबिन्द बिष्टले विद्यार्थीहरुको उत्तरपुस्तिकाको सुरक्षा गर्न नसक्ने असक्षम परिक्षा नियन्त्रकको तत्काल राजीनामा माग्दै दोषी कर्मचारीहरुलाई कडा कार्वाही गर्न माग गरेका छन ।

उनले परिक्षा नियन्त्रकको राजीनामा, दोषी कर्मचारीलाई कडा कार्वाही र विद्यार्थीको उत्तरपुस्तिकाको तत्काल खोजी गरी सबै तह र संकायको परिक्षाफल प्रकाशित नभएसम्म बाध्य भएर परिक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरिएको बताए ।

उनले समस्याको समाधान गर्न त्रिवी प्रशासन तथा परीक्षा नियन्त्रक कार्यालय इमानदार नबने आफुहरु थप संघर्षमा जान बाध्य हुने चेतावनी समेत दिए ।

केही दिन पहिले मात्र झापाको दमक बहुमुखी क्याम्पस बिबिएस चौथो बर्ष व्यवस्थापन संकाय अन्तर्गत विजनेस रिसर्च मेथड विषयको सिम्बोल नं. ७०२०२०००१ देखी ७०२०२०२५२ सम्मका विद्यार्थीको उत्तरपुस्तिका हराएको घटना सार्वजनिक भएको थियो ।