दोस्रो उमा राष्ट्रिय कराते सुरु

काठमाडौं, नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ । काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जितेका छन् । लुभुकै अनिल बलले रजत जिते भने थैवका अन्जन मगर र ऋतम्भरा डोजोका सोहन मगरले कांस्य पदक जिते । महिलातर्फ मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन् । नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत तथा लुभु डोजोकी आयुशा राई र मानसिंह डोजोकी अनु मोक्तानले कांस्य पदक जिते ।

कुमुतेतर्फ पुरुषमा ४ र महिलामा ३ स्वर्णको छिनोफानो मंगलबार भयो । चावहिलस्थित स्मार्ट प्यालेसको हलमा आयोजित प्रतियोगितामा पुरुष ३० केजूमूनि तौलसमूहमा मनकामना डोजोका समीर रानामगरले थैव डोजोका अर्जुन सुनारलाई हराउँदै स्वर्ण जिते । नेशनल युनाइटेड स्कुलका आदित्य ठाकुर र ऋतम्भरा डोजोका चुङला शेर्पाले कांस्य पदक जिते ।

३५ केजीमूनि तौलसमूहमा नागादेश डोजोका विप्लव श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा आफ्नै डोजोका प्रदीप श्रेष्ठलाई पराजित गरे । यो तौलसूहमा ऋतम्भराका रेमन लामा र श्री कालिका सरन डोजोका दोर्जे तामाङले कांस्य जिते । ४० केजीमूनि तौलसमूहमा ऋतम्भराका राज तामाङले स्वर्ण जित्दा फाइनलमा लुभु डोजोका प्रविण रानामगरलाई पराजित गरे । मित्रपार्क डोजोका निश्चल राई र ऋतम्भराका सोहन मगरले कांस्य पदक जिते । ४५ केजीमूनि तौलसमूहमा तोयोकान कराँतेका दिलिप मगरले स्वर्ण जित्दा मनकामना डोजोका सुरेश सेर्पाली रजतमा सीमित रहे । लुभुका अनिल बल र तोयोकानका विवेक तामाङले यो तौलसमूहमा कांस्य जिते ।

महिलातर्फ ३० केजीमूनि तौलसमूहमा थैव डोजोकी जमुना घर्तीमगरले स्वर्ण जितिन् । उनले फाइनलमा श्री कालिका सरनकी लक्ष्मी वाइवालाई पराजित गरिन् । लुभुकी सञ्जु तामाङ र श्री कालिका सरनकी शिक्षा सुनुवारले कांस्य जिते । ३५ केजीमूनि तौलसमूहमा मानसिंह डोजोकी अनु मोक्तानले मनमैजु डोजोकी प्रतीक्षा तामाङलाई हराएर स्वर्ण जितिन् । लुभुकी सरगम राई र श्री कालिका सरनकी शृष्टी लामाले यो तौलमा कांस्य जिते । ४० केजीमूनि तौलसमूहमा नोपाल हायासी हा डोजोकी छुनु चाम्लिङ राईले स्वर्ण जित्दा मानसिंह डोजोकी काभ्या गदालले रजत तथा थैवकी नीमा तामाङ र नेशनल युनाइटेड स्कुलकी पेरिशा राईले कांस्य जिते ।
१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा देशभरका १९ वटा डोजोबाट २ सय ५० जना खेलाडी सहभागी छन् । बाँकी स्वर्णको छिनोफानो बुधबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषतर्फ ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजीमूनि तौलसमूह तथा ६० केजीमाथि खुला तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । कातातर्फ महिला र पुरुष एकल विधा पनि समावेश छ ।

यसअघि वागमती प्रदेशसभा सदस्य श्रीराम लामिछानेले प्रतियोगिताको उदघाटन गरेका थिए । कार्यक्रममा वल्र्ड युनाइटेड मार्शल आर्ट (उमा) लण्डनबाट उपाध्यक्ष र छैटौं डानको उपाधि पाएका गोजुकाई करातेका महासचिव तथा प्रमुख सहायक प्रशिक्षक इन्द्रबहादुर शाही खड्गीलाई पनि शुभकामना तथा बधाई दिइएको थियो ।