ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु

१३ जना घाइते, १२ सवारीसाधन ध्वस्त

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिन्डरमा ग्यास भर्ने क्रममा विस्फोट हुँदा उक्त हताहती भएको हो । विस्फोटसँगै पसल वरपर भीषण आगो लागेको थियो । आगोमा परी २५ जना घाइते भएको तथा तीमध्ये १२ जनाको मृत्यु भएको हो ।

घाइेतहरूलाई तत्काल दक्षिण बन्दरगाह सहर कराँचीको सिभिल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

विस्फोटबाट सुरु भएको आगोले ग्यास भने पसलमा राखिएका अन्य सिलिन्डर पनि विस्फोट हुँदा नजिकैका चारवटा पसल तथा ‘पार्क’ गरिएका १२ वटा सवारीसाधन ध्वस्त भएका छन् । रासस÷सिन्ह्वा