जग्गा विवादका कारण एक जनाको हत्या

काठमाडौँ, जग्गाको विषयमा विवाद हुँदा धनुषामा एक जनाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको हत्या भएको हो । निर्घात कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 बिहीबार राति खाना खाएर बसिरहेका बेला सुरज यादवको समूहले आएर प्रभु यादव र उनका परिवारमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय धनुषाधाम, इलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेशकुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ ।

साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादवसमेत तीनजनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरुबीच विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।